अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं उपस्थित हुन नपर्ने


काठमाडौँ । यातायात व्यवस्था विभागले नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई थप सरल, सहज र सेवाग्राहीमैत्री बनाउन नयाँ व्यवस्था लागू गरेको छ ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा मन्त्रिस्तरबाट केही प्रावधानहरू संशोधन गर्दै अब सवारी साधन दर्ता वा नामसारीका लागि सवारी धनी स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको हो ।

नयाँ व्यवस्थाअनुसार सवारी साधन बिक्री गर्ने डिलरले गरेको प्राविधिक जाँचलाई नै अन्तिम मान्यता दिइनेछ ।

जसका कारण सवारी साधनलाई पुनः भौतिक रूपमा यातायात व्यवस्था कार्यालय पुऱ्याएर जाँच गराउनुपर्ने झन्झट समाप्त भएको छ ।

त्यस्तै, सवारी खरिदकर्ता स्वयं उपस्थित हुन नसकेको खण्डमा वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित यातायात कार्यालयमा उपस्थित भई दर्ता तथा नामसारीको कार्य सहजै सम्पन्न गर्न सक्नेछन् ।

सवारी साधनको बीमा गर्न वा बीमा नवीकरणका लागि पनि सवारी धनी स्वयं भौतिक रुपमा उपस्थित हुनुपर्ने छैन ।

विभागले नामसारी तथा बायोमेट्रिक प्रक्रियालाई आधुनिक र प्रविधिमैत्री बनाउन भिआरएस प्रणालीसँग आवद्ध गर्ने व्यवस्था मिलाएको छ ।

यसका लागि सवारी विक्रेता, वितरक वा कम्पनीहरूलाई एकद्वार पहुँच हुने गरी बायोमेट्रिक विवरण लिन सक्ने प्राविधिक सुविधा यातायात व्यवस्था कार्यालयले उपलब्ध गराउनेछ ।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार  ०७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।