झापामा दुई भारतीय कार र अटोसहित अवैध सामान बरामद


झापा । सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानबाट दुई भारतीय कार र एक अटोसहित लाखौँ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । बरामद सामानमध्ये करिब ४०० केजी माछा नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वार्टर झापाका अनुसार असोज २४ देखि २६ गतेसम्म खटिएका जाँच तथा मोबाइल गस्ती टोलीले भन्सार छली ल्याइएका सामान बरामद गरेका हुन् ।

बिर्तामोड नगरपालिका–८ को देउनिया पुलबाट पूजा सामग्रीसहित भारतीय कार तथा अर्जुनधारा नगरपालिका–११ को कालीझोडाबाट फुटबल लेग प्याड र लेडिज लेगिङ्ससहित भारतीय कार बरामद गरिएको हो ।

त्यसैगरी, कनकाई नगरपालिका–१ को दुर्गापुर चोकबाट करिब ४०० केजी माछा र दुई रोल सेक्सन पाइपसहित अटो बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

माछा पशु क्वारेन्टाइन कार्यालय र नेपाल प्रहरीका प्रतिनिधिको रोहबरमा खाडल खनी नष्ट गरिएको थियो भने अन्य सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वार्टर झापाका सूचना अधिकार सुजित विष्टले चाडबाडका अवसरमा हुनसक्ने चोरीपैठारी रोक्न तथा जिल्लाको समग्र शान्तिसुरक्षा कायम गर्न सशस्त्र प्रहरी बललाई व्यापक रूपमा परिचालन गरिएको बताए । उनले अवैध गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी, जाँच तथा गस्तीलाई प्रभावकारी बनाइएको जानकारी दिए ।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार  ०८ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।