
शेयर बजारमा लगातार छैटौं कारोबार दिन सोमबार पनि वृद्धि देखिएको छ । यसअघि बैशाख २६ गते आइतबार १८.५६ अंकले घटेर २६१८.५७ मा रहेको नेप्से त्यसयताको ६ कारोबार दिनमा १४० अंकले बढेर २७५९.२२ को ऐतिहासिक बिन्दुमा पुगेको हो ।
सोमबार नेप्से २०.७१ अंकले बढेको हो । यससँगै आज कायम भएको बिन्दु सर्वाधिक उचाईको अंक हो । आइतबार मात्रै ५४ अंकले बढेर यसअघि बैशाख २ गते कायम भएको २७३५ बिन्दुको रेकर्ड तोडिएको थियो ।
सोमबारको बजारमा पनि कारोबार रकम उत्साहजनक देखिएको छ । कोरोना कहरका बीच लगानीका अन्य क्षेत्रमा आएको संकुचनका कारण शेयर बजारमा भने गुल्जार आएको छ ।
आइतबार १० अर्ब ४० करोडको शेयर कारोबार भएकोमा सोमबार भने कारोबार रकम ८२ करोड ७५ लाख रुपैयाँले घटेर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँको शेयर खरीद बिक्री भएको छ । ६ दिन बढेको बजारमा सोमबार करेक्शन आउनसक्ने आंकलन गरिएपनि आधा घण्टापछि तीव्र दबाबमा परेपनि अन्त्यसम्ममा बजार सूचकमा २० अंकले वृद्धि हुनुलाई ठूला र संस्थागत लगानीकर्ताहरु प्रवेशसँग जोडेर हेरिएको छ ।

सोमबारको बजारमा ११ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने शेयरमूल्य घट्ने कम्पनीको अग्रपंक्तिमा ऋणपत्र परेका छन् । शेयरमूल्य घटेका कम्पनीका पनि न्यून मात्र शेयरमूल्य घटेको छ । सोमबार कारोबारमा आएका १३ मध्ये होटल तथा टुरिजम्, विकास बैंक र उत्पादनमुलक बाहेक सबै समुहका सूचक बढेका छन् । जलविद्युत र अन्यको सूचक साढे २ प्रतिशत धेरैले बढेको बजारमा बाँकी आठ समुहको सूचक एक प्रतिशतभन्दा कमले बढेका छ ।
सोमबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६६ करोड १ लाखको शेयर खरीद बिक्री हुँदा नेपाल टेलिक ४२ करोड ६९ लाख, शिखर इन्स्योरेन्स ३१ करोड ७९ लाख, अरुण काबेली २५ करोड १ लाख र अपर तामाकोशीको २१ करोड ५३ लाखको शेयर कारोबारमा आएको छ । नेपाल लाइफ, निफ्रा, सानिमा बैंक, एचआईडिसिएल, र सूर्या लाइफको पनि उच्च कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको सूर्या लाइफको १३ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन रुरु जलविद्युत परियोजना, समता लघुवित्त, राधी विद्युत्त कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेशिभ फाइनान्स, गुराँस लघुवित्त, बरुण हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर, नेपाल फाइनान्स, रिडी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको मुलय करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । मितेरी डेभलपमेन्ट बैंकर पाँचथर पावरको पनि करिब ९ प्रतिशतले मूल्य बढेको छ ।
उता एनबिबिएल डिबेञ्चर २०८५ र एनआईसी एशिया डिबेञ्चर २०८२।८३, विशाल बजार कम्पनी, श्री इन्भेष्ट एण्ड फाइनान्स, ज्योति विकास बैंक लगायतको मूल्य करिब २ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया