दसैँ लागेसँगै उपत्यकामा खसीको मासुको माग उच्च, मूल्य आकासिदा उपभोक्ता मारमा !


काठमाडौँ । नेपालीहरूको प्रमुख चाड दसैँ नजिकिँदै जाँदा काठमाडौँ उपत्यकामा खसीको मासुको माग बढेको छ ।

दसैँमा मासु खाने परम्परा, आफन्त तथा परिवारका सदस्य भेला भएर चाड मनाउने चलन र उपभोग बढ्ने भएकाले यो समयमा खसीबोकाको कारोबार सामान्य दिनको तुलनामा बढ्ने गर्छ ।

तर, यस वर्ष बाढीपहिरोका कारण विभिन्न सडकखण्ड प्रभावित हुँदा खसीबोका ढुवानीमा समस्या देखिएको छ । त्यस कारण बजारको मागअनुसार आपूर्ति व्यवस्थापन गर्न कठिन भएको व्यवसायीहरुले बताएका छन् ।

काठमाडौं उपत्यकामा खसीबोका भित्रिने मुख्य केन्द्र कलंकी खसीबजार हो । दसैंका लागि काठमाडौं उपत्यकामा मकवानपुर, धादिङ, रोल्पा, रुकुम, जाजरकोट, सल्यान, प्युठान लगायत पश्चिमी पहाडी जिल्ला तथा सिन्धुली, नुवाकोट, तेह्रथुम जस्ता पूर्वी पहाडी जिल्ला गरी करिब ३५ देखि ४० जिल्लाबाट खसीबोका ल्याइन्छ । तर, ति जिल्लाहरुबाट उपत्यका भित्रिने मुख्य नाकाहरू अवरुद्ध हुँदा खसीबोका ल्याउन सकिएको छैन ।

उपत्यकामा दसैंका लागि सामान्यतया ४५ देखि ६० हजार खसीबोकाको माग हुने गर्छ । जसमा खाद्य संस्थानले मात्रै २० देखि २५ हजार खसीबोका ल्याएर बजार सन्तुलनमा राख्ने गरेको थियो । तर, गत वर्षदेखि नै संस्थानले खसीबोका ल्याउन छाडेको छ । खाद्यले आयात नगर्ने भएपछि निजी व्यवसायी र उपभोक्तामाथि थप दबाब परेको छ ।

दसैंका लागि काठमाडौं उपत्यकामा खसीबोका र च्याङ्ग्रा भित्रिने मुख्य नाकाहरू बन्द भएपछि बजारमा मासुको मूल्य अस्वाभाविक रूपमा बढ्ने चिन्ता बढेको छ ।

प्रतिकेजी १४ सय रुपैयाँमा पाइने खसीको मासु गत असारदेखि १७ सय पुगेको छ । कुखुरामा बर्डफल्यू संक्रमण तिव्र फैलिएपछि खसीको मासुको माग बढेकोले मूल्य पनि अस्वभाविक बढेको थियो । तर, त्यत्तिबेला बढेको मासु त्यसयता घट्न सकेको छैन । नेपालको सबैभन्दा बढी मासु खपत हुने पर्व दसैं नजिकिँदै गर्दा मूल्य अझ बढ्ने व्यापारीको अनुमान छ । यसरी मासुको मूल्य महँगिदा उपभोक्ताहरु थप मारमा परेका छन् ।

सडक अवरुद्ध हुँदा ढुवानीमा भएको कठिनाइ र बढ्दो मूल्यका कारण गत वर्ष ४५ देखि ५० हजार संख्यामा खपत भएको खसीबोका यस वर्ष ३८ देखि ४० हजारमा सीमित हुने अनुमान रहेको कलंकीस्थित चौपाया खरिद–बिक्री केन्द्रका अध्यक्ष जीवनराज खतिवडाले बताएका छन् ।

‘यस वर्ष दसैंको माग धान्ने गरी पर्याप्त संख्यामा खसीबोका छैनन् ।’ उनले भने, ‘गत वर्षको तुलनामा अन्य समयमा पनि मूल्य बढेको छ, त्यसैमाथि माग अनुसार आयात नहुँदा मूल्य अझै बढ्न सक्छ ।’

उनका अनुसार उपत्यकामा मात्रै दसैंको अवधीभर सामान्यतया ८० हजारदेखि १ लाखसम्म जिउँदा खसीबोका खपत हुन्छन् । उपत्यकामा वर्षभरि खपत हुने करिब ५ लाख खसीबोकामध्ये ठूलो हिस्सा दसैंको अवधिमा बिक्री हुन्छ ।

कलंकी खसीबजारमा अहिले जिउँदो खसीबोका प्रतिकिलो ७५० देखि ८५० रुपैयाँमा कारोबार भइरहेको उनले जानकारी दिए । गत वर्षको दसैंमा जिउँदो खसीको मूल्य प्रतिकिलो ६५० देखि ७०० रुपैयाँ थियो ।

व्यापारीले आपूर्ति घट्नु, ढुवानी तथा दानाको लागत बढ्नु र बाढीपहिरोपछि ग्रामीण क्षेत्रबाट खसीबोका ल्याउन कठिन हुनुलाई मूल्यवृद्धिको कारण मानेका छन् । तर उपभोक्ता अधिकारकर्मीले उत्पादन र ढुवानी लागत बढेकै कारण यति धेरै मूल्यवृद्धि भएको मान्न नसकिने बताएका छन् ।

कमजोर बजार अनुगमन र बिचौलियाका अनेक तहका कारण नेपालमा मासुको मूल्य अस्वाभाविक रूपमा महँगो भएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए । ‘खसीको मासु प्रतिकिलो १७ सय रुपैयाँ पर्नुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’

ढुवानी लागतले मूल्यमा केही असर पारेको छ । तर खुद्रा मूल्य जसरी बढेको छ, त्यो अस्वाभाविक रहेको उनको भनाई छ ।
व्यवसायीहरुले माग अनुसारको आयात नहुँदा अभाव देखिने भनिरहँदा पशु सेवा महानिर्देशक उमेश दाहालले खसीबोकाको ठूलो अभाव नरहेको दाबी गरेका छन् ।

भोटेकोसी बाढीले पशुचौपायामा केही असर पारे पनि मध्यपहाडी क्षेत्रमा उत्पादन राम्रो रहेको उनको भनाइ छ । नेपालमा खसीबोका तथा हिमाली बाख्राको उत्पादन पर्याप्त रहेको उनले बताए ।

उनका अनुसार, किसानले उत्पादन गरेको खसीबोकाले उपभोक्ता बजारमा पाउने मूल्य र किसानले पाउने मूल्यबीच ठूलो अन्तर देखिएमा त्यसको लाभ बिचौलियाले लिने जोखिम रहन्छ ।

किसानबाट कम मूल्यमा खरिद गरेर विभिन्न तहका व्यापारी हुँदै उपभोक्तासम्म पुग्दा मूल्य बढ्ने भएकाले उत्पादनदेखि बिक्रीसम्मको मूल्य शृंखला पारदर्शी बनाउनुपर्ने देखिन्छ ।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार  ०८ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।