बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत पुग्ने अनुमान


काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने प्रारम्भिक प्रक्षेपण गरिएको छ । नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको हिस्सा सबैभन्दा बढी रहने देखिएको हो ।

कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ७६.५३ प्रतिशत, उद्योग क्षेत्रको १२.२४ प्रतिशत र कृषि क्षेत्रको ११.२३ प्रतिशत रहने अनुमान छ ।

प्रतिवेदनअनुसार बागमती प्रदेशमा गत आर्थिक वर्ष खाद्य तथा अन्य बाली लगाइएको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले खुम्चिएको छ । क्षेत्रफलमा आएको कमीका साथै समग्र बाली उत्पादनमा समेत ७.८ प्रतिशतको गिरावट देखिएको छ ।

यद्यपि, प्रमुख खाद्यान्न बालीमध्ये केहीको उत्पादनमा भने वृद्धि भएको छ । धानको उत्पादन ०.४ प्रतिशत, मकैको ०.३ प्रतिशत, गहुँको २.५ प्रतिशत, कोदोको ०.३ प्रतिशत, जौको १३.६ प्रतिशत र फापरको उत्पादन २.५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, तरकारी तथा बागवानीजन्य उत्पादनमा २.८ प्रतिशतको वृद्धि भएको छ ।

पशुपालनतर्फ दूध उत्पादन ०.७ प्रतिशत र मासु उत्पादन ३.१ प्रतिशतले बढेको छ । तर अन्डा उत्पादन भने ८.३ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा प्रदेशमा रहेका बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रमा ३.३ प्रतिशत कर्जा गएको देखिन्छ ।

यस्तै समीक्षा अवधिमा उद्योगहरूको औसत क्षमता उपयोग ४१.०८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो दर ३७.४९ प्रतिशत मात्र थियो ।

औद्योगिक क्षेत्रमा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह पनि उल्लेख्य रहेको छ । प्रतिवेदनअनुसार कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ३६.८१ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा नमुना छनोटमा परेका होटलहरूको औसत अकुपेन्सी दर ४७.९ प्रतिशत कायम भएको छ । प्रतिवेदनले २०८२ कात्तिकदेखि होटलहरूको अकुपेन्सीमा क्रमिक सुधार देखिएको जनाएको छ ।

घरजग्गा कारोबारमा भने रजिस्ट्रेसनको सङ्ख्या बढे पनि त्यसबाट प्राप्त राजस्व घटेको छ । अघिल्लो अवधिको तुलनामा घरजग्गा रजिस्ट्रेसन सङ्ख्यामा ९.६ प्रतिशत वृद्धि हुँदा रजिस्ट्रेसनबापत सङ्कलित राजस्व १६.८ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

यस प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाबाट सङ्कलित निक्षेप र प्रवाहित कर्जा दुवैमा वृद्धि भएको छ । २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तसम्म प्रदेशबाट सङ्कलित कुल निक्षेप ९.७९ प्रतिशतले बढेको छ । सोही अवधिमा कर्जा प्रवाह पनि ९.०७ प्रतिशतले विस्तार भएको छ ।

गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले ६७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये ४६ अर्ब रुपैयाँ खर्च भएको छ, जुन कुल विनियोजनको ६८.१८ प्रतिशत हो ।

यसैगरी, २०८३ असार मसान्तसम्म प्रदेश सरकारले ३० अर्ब ६७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार  ०७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।