अत्यधिक बढ्यो महँगी, एक वर्षमै मुद्रास्फीति १.८७ बाट ६.३४ प्रतिशतमा


काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले आज (बिहीबार) सार्वजनिक गरेको वित्तीय विवरण अनुसार मुद्रास्फीति ६.३४ प्रतिशतमा पुगेको हो । अघिल्लो वर्षको सोही अवधीमा मुद्रास्फीति १.८७ प्रतिशत रहेको थियो ।

यो अवधिमा सबैभन्दा धेरै महँगी खाद्य तथा पेय पदार्थमा देखिएको छ । यो समूहको मुद्रास्फीति ७.५४ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.६९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको थियो ।

त्यस्तै खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.६८ प्रतिशत, फलफूलको १५.९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२.१४ प्रतिशत, माछा तथा मासुको ७.३४ प्रतिशत, तरकारीको ७.०७ प्रतिशत र मरमसलाको ६.७१ प्रतिशतले बढेको छ ।

यस्तै गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.७७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार  १५ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।