दुई महिनामै भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स


काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को २ महिना (साउन–भदौ) मा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक वित्तिय विवरणमा उल्लेख गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार, भदौ महिनामा विप्रेषण आप्रवाह २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड रहेको थियो ।

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब आठ करोड रहेको थियो ।

२ महिनासम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७८ हजार ३२० छन् । साथै, पुनः श्रम स्वीकृति लिनेको संख्या ५२ हजार १६३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८८४ रहेको थियो ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।