
शेयर बजार सूचक मापक नेप्सेमा जेठ ४ गते मंगलबार ऐतिहासिक रेकर्ड बनेको छ । यसअघिका सबै रेकर्ड तोडिँदै मंगलबार कारोबार र सूचक पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
यसअघि गत माघ २५ गते कायम भएको १० अर्ब ४४ करोडको कारोबार तोडिँदै ११ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ भने मंगलबार नेप्से सूचकमा ३४.६८ अंक वृद्धि भएर हालसम्मकै उच्चतम बिन्दु २ हजार ७९३.९० अंकमा पुगेको छ । यसअघि बैशाख २ गते कायम भएको २७३५ अंकको नेप्से सूचकको रेकर्ड सोमबार मात्रै तोडिएर २७५९.२१ अंकमा पुगेको थियो ।
यसदिन २१५ कम्पनीका २ करोड ३१ लाख ३१ ह्जार ६१५ कित्ता शेयर १ लाख १५ हजार ९६१ पटक खरीद बिक्री हुँदा कारोबार रकम ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९१ रुपैयाँ पुगेको हो । मंगलबार कारोबार भएको कित्ता र संख्या पनि हालसम्मकै धेरै हो ।
यसदिन ३४ बढी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने जम्मा २२ वटा कम्पनीको शेयरमूल्य मात्र घटेको छ । कुल १८० कम्पनीको शेयरमूल्य बढेको मंगलबारको बजारमा १२ कम्पनीको शेयरमूल्य स्थीर रह्यो ।
उत्पादन तथा प्रशोधन बाहेक सबै समुहको सूचकमा बढोत्तरी भएको यस दिनको बजारमा होटल तथा टुरिजम्को इन्डेक्स सर्वाधिक ६.१५ प्रतिशतले बढेको छ । वित्तको सूचक ५.८६ प्रतिशतले बढेको छ भने जलविद्युत र विकास बैंकको ३ प्रतिशत माथि तथा लगानी सूचक करिब ३ प्रतिशतले बढेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६७ करोड ९२ लाख बढीको शेयर कारोबार भएको छ । नेशनल लाइफ र अरुण काबेलीको ३१ करोड माथि कारोबार हुँदा आइएमई जनरल, नागरिक लगानी कोष, नेशनल हाइड्रो, एनआईडिसीएल, बुटवल पावर, सिनर्जी पावर र युनाइटेड मोदी हाइड्रोको उच्च कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको युनाइटेड मोदीको १८ करोड ८२ लाखको शेयर कारोबारमा आएको छ ।
यसदिन नेपाल टेलिकम, अपर तामाकोशी, शिखर इन्स्योरेन्स लगायतको मूल्य घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया