विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, २१ महिनाको वस्तु आयातका लागि पर्याप्त


काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्ममा कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब रुपैयाँ बराबरको पुगेको छ । यो सञ्चिति २०.९ महिनाको वस्तु आयातका लागि पर्याप्त हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०८३ भदौ मसान्तमा ४० खर्ब ६५ अर्ब ७८ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८३ असार मसान्तमा ३ खर्ब ४७३ अर्ब १९ करोड रुपैयाँ रहेकोमा २०८३ भदौ मसान्तमा ४ प्रतिशतले वृद्धि भई ३ खर्ब ६१० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ७.२ प्रतिशतले वद्धि भई ४ खर्ब ५५ अर्ब १ करोड कायम भएको छ । २०८३ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८३/८४ को दुई महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८३ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६१.६ प्रतिशत, १४८.५ प्रतिशत र ४४.९ प्रतिशत रहेका छन् । २०८३ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार  १६ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।