सिटिजन्स बैंकको नयाँ सुविधा : होटलमा खानादेखि विद्युतीय साइकल खरिदसम्म छुट


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सामग्रीको खरिदमा छुट उपलब्ध गराउने उद्देश्यले होटल हिमालयन होराइजन, र्‍याडिसन एकेडोर काठमाडौं र पाङ्क बाइक प्रालिसँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले र्‍याडिसन एकेडोर काठमाडौंमा १५ प्रतिशत, होटल हिमालयन होराइजनमा १५ प्रतिशत र पाङ्क बाइक प्रालिमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकका अनुसार होटल हिमालयन होराइजनमा डेबिट कार्डवाहकले खाना तथा पेय पदार्थमा १० प्रतिशत र क्रेडिट कार्डवाहकले १५ प्रतिशत छुट पाउनेछन् । त्यस्तै, र्‍याडिसन एकेडोर काठमाडौंमा खाना, पेय पदार्थ तथा स्पा सुविधामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ । पाङ्क बाइक प्रालिमा विद्युतीय तथा साधारण साइकल खरिद गर्दा १० प्रतिशत छुट पाइनेछ ।

सम्झौताबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारलाई डिजिटल कारोबारतर्फ प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोग बढाउन तथा ग्राहकलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्न समय/समयमा विभिन्न ग्राहक मैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ ।

बैंकले डिजिटल कारोबारमा उपलब्ध छुटसम्बन्धी विस्तृत विवरण आफ्नो वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाएको छ ।

विश्वका प्रतिष्ठित बैंकिङ पुरस्कार प्राप्त गर्न सफल सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो । बैंकले ‘सिटिजन्स जेन(जी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन सेवा पनि सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी, स्वतन्त्र रूपमा काम गर्ने व्यक्तिलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सुरु गरेको बैंकले मोबाइल बैंकिङ अनुप्रयोगमार्फत सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ । अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट क्यूआर कोड स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार  १६ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।