वीरगंज भन्सार कार्यालयहरूबाट लिलाम बिक्री हुने सवारी साधनहरू तथा घरायसी प्रयोजनका सामानहरू कम मूल्यमा उपलब्ध गराइ दिने प्रलोभन देखाइ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । आफू सशस्त्र प्रहरी सहायक निरीक्षक रहेको र भन्सार कार्यालयको एजेन्टसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै सर्वसाधारणलाई झुक्याएर लिलाम विक्री साकार गर्न तयार भएका व्यक्तिहरूलाई विभिन्न आश्वासन दिई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाएर सम्पर्क विहीन भई रकम ठगी गरी बिचौलियाको कार्यमा संलग्न रहेको भन्दै ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सर्लाही घर भई हाल काठमाण्डौंमा डेरा गरी बस्ने अन्दाजी वर्ष २७ को प्रविण साहलाई मिति २०८३ असोज २२ गते पर्साको वीरगंज महानगरपालिका वडा नं। ८ घण्टाघरबाट विशेष प्रहरी टोलीले पक्राउ गरी कानून बमोजिम म्याद थप भई अनुसन्धान भईरहेको जनाएको छ ।
साथै बिचौलिया कार्यमा संलग्न रहेका अन्य व्यक्तिहरूको पहिचान गर्ने विशेष निगरानी र आवश्यक प्रमाण संकलन कार्य भइरहेकोले बिचौलियाको काम गर्ने व्यक्तिहरू कानूनी कारवाहीको दायरामा आउने भएकोले बिचौलिया काम गर्ने व्यक्तिको विश्वासमा नपर्न, सम्पर्कमा नबस्न तथा बिचौलियाको काम गर्ने व्यक्तिहरुको सम्बन्धमा कुनै सूचना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत पर्सा प्रहरीले अनुरोध गरेको छ ।










