दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी


मुस्ताङ । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ ।

कृषि तथा पशु विकास कार्यालयका अनुसार यसवर्ष उक्त मूल्य बराबरका १३ हजार २७९ भेडा च्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरिएका छन् ।

कार्यालयका प्रमुख डा लालमणि अर्यालका अनुसार मुस्ताङ मार्ग हुँदै ११ हजार १६४ च्याङ्ग्रा र दुई हजार ११५ वटा भेडा बिक्रीका लागि बेसीतर्फ झारिएको हो । उहाँले मुस्ताङबाट रु २२ करोडभन्दा बढी र कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट रु १३ करोड मुल्य बराबरको भेडा, च्याङ्ग्रा र च्यालु ९माउ० यही बाटो हुँदै निकासी भएको जानकारी दिए ।

कार्यालयका अनुसार मुस्ताङबाट मात्रै सात हजार ९६४ च्याङ्ग्रा र एक हजार २०४ भेडा निकासी भएको छ । जसमध्ये मुस्ताङका किसानले पालेको खोरपाला र तिब्बतबाट कोरलानाका हुँदै भित्र्याइएका ४०० भन्दाबढी भेडा च्याङ्ग्रा मुस्ताङका व्यापारीहरुले पोखरा र काठमाडौँलगायतका स्थानमा निकासी गरेका छन् ।

यसैगरी डोल्पाबाट दुई हजार ६८० च्याङ्ग्रा र ८७१ भेडा, जुम्लाबाट ३०० च्याङ्ग्रा र मुगुबाट ३२० च्याङ्ग्रा र ४० वटा भेडा निकासी गरिएको छ । कार्यालयका अनुसार यसवर्ष च्याङ्ग्राको औसत मूल्य रु ३३ हजार, भेडाको रु २२ हजार र च्यालु ९रमा÷माउ०को रु १० हजार कायम गरी निकासी गरिएको हो ।

प्रकाशित मिति: २ कार्तिक २०८३, सोमबार  ०९ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।