काठमाडौँ । गत १० भदौमा रसुवागढी र भोटेकोशी नदीमा आएको बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।
राष्ट्रिय योजना आयोगको प्रारम्भिक सर्वेक्षण प्रतिवेदन अनुसार बाढीबाट ३ हजार ६१० परिवारको ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको निजी जग्गामा क्षति पुगेको छ ।
आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) को प्रारम्भिक नतिजा अनुसार निजी सम्पत्तिमा भएको कुल क्षतिमध्ये जग्गाजमिनको हिस्सा सबैभन्दा बढी छ । बाढीबाट घरजग्गा, घरायसी सामग्री, सवारीसाधन, कृषि उपज तथा व्यवसायको सम्पत्तिमा समेत ठूलो नोक्सानी पुगेको छ ।
जग्गाबाहेक निजी स्वामित्वको घर रहेको जमिनमा १३ अर्ब २६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी निजी भवनमा भएको क्षति ११ अर्ब ९५ करोड रुपैयाँ बराबर रहेको आयोगले जनाएको छ ।
बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहमा ६ हजार ८१७ घरपरिवार र १ हजार ६३८ व्यवसायले क्षति बेहोरेका छन् । प्रत्यक्ष प्रभावित हुनेको संख्या ३२ हजार ८७२ रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
आयोगका अनुसार घरपरिवारको सम्पत्तिमा ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानको सम्पत्तिमा ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ । यसरी निजी सम्पत्तिमा भएको कुल नोक्सानी ७९ अर्ब १७ करोड रुपैयाँ रहेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आयोगको सर्वेक्षण अनुसार ३ हजार ९६७ घरधनीका कुल ४ हजार १५१ वटा भवन तथा भौतिक संरचनामा क्षति पुगेको छ । जसमा २ हजार ७०० घर, २८८ वटा गोठ/धनसार/मतान, ६५० ट्रस र २६३ टहरा समावेश छन् । बमढीमा ५८८ संरचना (७२%) पूर्ण रूपमा भत्किएका छन् भने ५०८ वटा माटो र लेदोले पुरिएका छन् ।
कुल संरचनामध्ये ३ हजार १०४ वटा (७६.९५ प्रतिशत) पुनः प्रयोग गर्नै नमिल्ने अवस्थामा पुगेका छन् । मर्मत सम्भारपछि मात्र प्रयोग गर्न सकिने संरचना ६५२ वटा छन् भने मर्मत नगरी सिधै बस्न मिल्ने संरचना जम्मा ९७ वटा मात्र बाँकी रहेका छन् ।
व्यावसायिक क्षेत्रतर्फ कुल क्षति भएका प्रतिष्ठानमध्ये सबैभन्दा बढी थोक तथा खुद्रा व्यापारी ७७४ वटा प्रभावित भएका छन् । यसैगरी आवास तथा खाद्य सेवाका ३३७ प्रतिष्ठान कृषि, वन तथा मत्स्यपालनका १६६ प्रतिष्ठान र अन्य सेवा क्षेत्रका १३६ प्रतिष्ठान रहेका छन् ।
व्यावसायिक प्रतिष्ठानका ४०३ वटा सवारीसाधनमा ९४ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । बाढीका कारण सर्वसाधारणको धनमाल, सवारीसाधन, कृषि तथा व्यावसायिक क्षेत्रमा अर्बौँ रुपैयाँ बराबरको गम्भीर क्षति पुगेको आयोगको अध्ययनले देखाएको छ । आयोगका अनुसार २ हजार ३ सय ३० परिवारका नगद, बहुमूल्य गहना तथा सांस्कृतिक–पुरातात्त्विक सम्पत्तिमा मात्रै ५ अर्ब २ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
त्यस्तै, ३ हजार १८७ परिवारका स्थायी घरायसी सामग्रीमा १ अर्ब ४५ करोड र २ हजार ७६९ परिवारका अस्थायी सामग्रीमा ६६ करोड ३५ लाख रुपैयाँको क्षति दर्ता गरिएको छ । यस्तै, १ हजार ११५ परिवारका १ हजार ४२३ वटा सवारीसाधन प्रभावित हुँदा १ अर्ब २४ करोड रुपैयाँको नोक्सानी भएको छ । बाढीले २३ करोड २१ लाख रुपैयाँ बराबरको बाली नष्ट गर्दा १० करोड ४१ लाख रुपैयाँको भण्डारण गरिएको खाद्यान्न क्षति भएको छ । पशुधन तथा माछापालनमा २१ करोड ४२ लाख रुपैयाँको नोक्सानी भएको छ ।
जिल्लागत रूपमा नुवाकोट सबैभन्दा बढी प्रभावित भएको छ । नुवाकोटमा मात्रै १७ हजार ९५४ जना प्रभावित भएका छन् । रसुवामा ९ हजार ६७६, धादिङमा ४ हजार ५८४ र गोरखामा ६५८ जना प्रभावित भएको सर्वेक्षणमा उल्लेख छ ।
आयोगले मन्त्रिपरिषद्को १२ भदौको निर्णयअनुसार बाढीबाट भएको क्षति र पुनर्निर्माणका लागि आवश्यक स्रोत पहिचान गर्न तथ्यांक संकलन गरेको जनाएको छ । सडक, जलविद्युत् तथा अन्य पूर्वाधार र वातावरण लगायतका क्षेत्रमा भएको क्षति भने यो प्रारम्भिक विवरणमा समावेश नगरिएको आयोगले जनाएको छ ।








