हुलाकी सडकको विस्तारले उद्योगमा लगानी बढ्दै


बाँके । हुलाकी सडकको विस्तारसँगै बाँके र बर्दियामा उद्योग क्षेत्रमा लगानी बढ्न थालेको छ । बाँकेको खजुरामा निर्माणाधीन अन्ट्राटिक बिस्कुट प्रालि (पार्ले–जी)उद्योगको पूर्वाधार निर्माणको काम भइरहेको छ । उद्योग सञ्चालनमा आएपछि पश्चिम क्षेत्रमै बिस्कुट उत्पादन र बजार विस्तारको नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ ।

छिमेकी बर्दियाको गुलरिया नगरपालिका–८ मा ४ अर्ब लगानीमा लमिनार भिट्रीफिड टायल उद्योग सञ्चालनमा आएको छ ।  सुवरत धिताल, अभिनव चुरिवाल र श्याम खेतानको लगानीमा स्थापना भएको उद्योगले देशभर आफ्नो उत्पादन पुर्याउने लक्ष्य राखेको छ । ती २ उद्योगले पश्चिम नेपालमा औद्योगिक लगानी विस्तार हुँदै गएको चित्रण गरेको छ । 

बाँकेमा ठूला उद्योग स्थापना हुनेक्रम बढेसँगै त्यसको प्रभाव छिमेकी बर्दियामा पनि देखिन थालेको छ । बर्दियामा ठूलो लगानीका दुई चिनी उद्योग सञ्चालन हुनेछन् । तीमध्ये एउटा राजापुर सुगर मिल सञ्चालनमा आइसकेको छ भने अर्को सञ्चालनको तयारीमा रहेको छ । 

बाँकेमा जय अम्बे स्टिल, सगरमाथा स्टिल इन्डस्ट्रिज, नेपाल बेलहोप एग्रीटेक, वर्षा रिसाइक्लिङ इन्डस्ट्रिज र विकास फ्लोर मिललगायतका उद्योग सञ्चालनमा छन् । यसबाहेक विभिन्न उद्योगले अनुमति प्राप्त गरी पूर्वाधार निर्माण अघि बढाएका जनाएका छन् । 

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले बाँकेमा ठूला उद्योग स्थापना हुन थालेपछि यसक्षेत्र लगानी बढ्दै गएको बताए।  द्वन्द्वकालमा प्रभावित भएका पुराना उद्योग पुनः सञ्चालनमा आउनु र नयाँ उद्योग स्थापना हुनेक्रम बढ्नु सकारात्मक भएको उनको भनाइ छ । 

“राजनीतिक स्थिरता र ऊर्जालगायत समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ र बाँके औद्योगिक केन्द्रका रूपमा विकास भइरहेको छ”, अध्यक्ष ओलीले भने ।  

शिखर प्लाइउड प्रालिका सञ्चालक चम्पालाल बोथराले पश्चिम नेपालमा ठूलो बजार सम्भावना देखिएकाले उद्योगी बाँकेमा लगानी गर्न आकर्षित भएको बताए।  

“ठूलो परिमाणमा उत्पादन बिक्री गर्न सकिने र पश्चिममा बजारको राम्रो सम्भावना देखिएकाले उद्योगीले बाँकेलाई रोजेका छन्”, उनले भने । 

बोथराका अनुसार अन्य कतिपय स्थानको तुलनामा उद्योग सञ्चालनका लागि जग्गा प्राप्त गर्न सहज हुनु पनि बाँकेमा उद्योगप्रतिको आकर्षणको अर्को कारण हो ।  

अम्बे स्टिलका सुरेश पण्डितले विद्युत् अनियमितताका कारण चाहे जति उत्पादन गर्न नसकिएको उल्लेख गर्दै करिब छ वर्षदेखि उत्पादन भइरहेको बताए।

प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहिबार  १४ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।