बिहीबार पनि बढ्यो नेप्से, कारोबार रकम साढे ८ अर्ब नाघ्यो


काठमाडौँ । बिहीबार नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० बिन्दुमा कायम भएको छ । यो साता लागेसँगै बढेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज कारोबारमा आएका ३५० कम्पनीहरुमा १८० कम्पनीको सेयर मूल्य बढेको छ । ९२ कम्पनीको सेयर घटेको छ भने ६ कम्पनीको सेयर स्थिर रहेका छन् ।

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

आज बेनी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सोपान फर्मास्यूटिकल्सको सेयर मूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको आज ३५ करोड ६१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, सिद्धार्थ बैंकको करिब साढे २५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने लक्ष्मी सनराइज बैंकको कारोबार रकम २४ करोड रुपैयाँ रहेको छ।

प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहिबार  १५ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।