काठमाडौँ । लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण कार्य अघि बढेको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक निर्माण कार्य पुनः सुरु भएको जानकारी दिँदै आगामी दुई महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन् ।
सडकको सेन्टरलाइन र इन्टरसेक्सन (चोक) सम्बन्धी विवादका कारण निर्माण कार्य रोकिएको थियो । मन्त्रालयको पटक–पटकको सहजीकरणपछि विवाद समाधान भएसँगै निर्माण कार्य अघि बढाइएको मन्त्री लम्सालले जानकारी दिए ।
हाल निर्माणस्थलमा सडकको पुरानो सतह हटाउने काम भइरहेको छ । बाँकी सडकखण्डलाई सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गरी यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।
मन्त्री लम्सालका अनुसार साँगा–धुलिखेल सडकखण्डको सर्भिस लेनसहित कूल लम्बाइ ७.९ किलोमिटर रहेको छ । जसमध्ये ६.५ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भइसकेको छ । अब बाँकी १.४ किलोमिटर सडक निर्माण गर्न बाँकी छ ।
बाँकी सडकखण्डमा पनि निर्माण कार्यलाई तीव्रता दिँदै सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गरिने मन्त्रालयले जनाएको छ । लामो समयदेखि रोकिएको सडक निर्माण कार्य अघि बढेसँगै बनेपा बजार क्षेत्रको यातायात व्यवस्थापन सहज हुने र सडक पूर्वाधारमा सुधार आउने अपेक्षा गरिएको मन्त्री लम्सालले जनाए ।








