काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने र उनको स्थानमा केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत केसी अब प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा पुग्ने भएका छन्।
पछिल्लो समय नेपाल प्रहरीभित्र कार्की र केसीबीच सम्बन्ध तनावपूर्ण रहेको चर्चा हुँदै आएको थियो। सरकारले कार्कीलाई आईजीपी पदबाट हटाउन खोजेको भन्दै यसअघि विभिन्न समाचारसमेत सार्वजनिक भएका थिए।
यसैबीच, आईजीपी कार्कीले मन्त्रिपरिषद्को निर्णय हुनुभन्दा अघिल्लो दिन मात्रै प्रहरीको पिसिसी बैठक बोलाएका थिए। बैठकपछि जारी गरिएको विज्ञप्तिमा आईजीपीको राजीनामा मागिएको भन्ने विषयको खण्डन गरिएको थियो।
प्रहरी संगठनभित्र नेतृत्व परिवर्तनको चर्चा र विवाद चलिरहेका बेला सरकारले गरेको यो निर्णयलाई प्रहरी नेतृत्वमा महत्वपूर्ण फेरबदलका रूपमा हेरिएको छ।






