आधुनिक सुरुङमार्ग, व्यवस्थापन पुरानै शैलीमा : केही मिनेटको यात्रामा टोल तिर्नै घण्टौं लाइनमा


काठमाडौँ । नागढुंगा सुरुङमार्गमा एनट्याग प्रभावकारी रुपमा लागु नहुँदा सर्वसाधारण घण्टौं जाममा बस्न बाध्य भएका छन् । काठमाडौँ प्रवेश र बाहिरिने सवारीसाधनलाई लामो ट्राफिक जामबाट छुट्कारा दिनुका साथै यात्रा अवधि र इन्धन खपत घटाउन अर्बौ रुपैयाँ खर्चेर निर्माण भएको सुरुङमार्गमा व्यवस्थापकीय कमजोरी देखिदा यात्रुले सास्ती खेप्नु परेको हो ।

३० मिनेट जोगाउन झण्डै १ घण्टाको जाममा बसेर शुल्क तिर्नुपरेको एक यात्रुले बताए । कात्तिक १६ गतेदेखि सुरुङमार्गमा शुल्क संकलन सुरु गरिएपनि सर्भरमा समस्या आएको भन्दै यात्रुले सहज रुपमा सुरुङमार्ग प्रवेश गर्न पाएका थिएनन् ।

रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआइडी) र ‘एन–ट्याग’ कार्ड सञ्चालनका लागि ८ वटा बैंकलाई जिम्मेवारी दिएपनि अहिले सर्भरमा समस्या भन्दै पैसा लिने, फिर्ता गर्ने र रसिद काट्ने प्रक्रियाले ढिला भइरहेको हो । सवारी चाप बढी हुने ‘पिक आवर’ मा सुरुङमार्ग क्षेत्रमा सवारीसाधनको लामो लाइन लाग्ने गरेको छ ।

सरकारको पूर्वतयारी शून्य

सरकारले सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरेको छ । जस अनुसार वर्ग १ अर्थात कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारी साधन काठमाडौं प्रवेश गर्दा ६५ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै वर्ग २ अर्थात मिनी बस, मिनी टिपररट्रक काठमाडौं प्रवेश गर्दा ११५ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ ।

यसैगरी वर्ग ३ अर्थात बस, ट्रक काठमाडौं प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । वर्ग ४ अर्थात मल्टी एक्सल ट्रकरसवारी साधन, भारी उपकरण काठमाडौं प्रवेश गर्दा ६०० र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ ।

तर, शुल्क संकलनको प्रक्रिया सहज बनाउने पूर्वतयारीमा भने सरकार चुकेको देखिन्छ । अहिले नगद र क्यूआर कोडमार्फत शुल्क तिर्न सकिने व्यवस्था छ । स्वचालित शुल्क संकलनका लागि ‘एन–ट्याग’ प्रणाली लागू गर्ने योजना थियो । तर, उक्त प्रणालीमा समस्या आउँदा यात्रुहरू टोल प्लाजामा नै रोकिन र लाइन बस्न बाध्य छन् ।

रोचक त के छ भने, सुरुङमार्गमा सवारीसाधनको आवागमन सहज बनाउन आधुनिक प्रविधिको प्रयोग गर्ने योजना बनाइएपनि शुल्क संकलनकै सामान्य व्यवस्थापनमा समस्या देखिएको छ । एन–ट्याग वितरणका लागि आठ वटा बैंकमार्फत व्यवस्था गर्ने तयारी थियो । तर, सडक बोर्ड नेपालको सर्भरमा प्राविधिक समस्या देखिएपछि ट्याग वितरण नै रोकिएको आयोजना पक्षले जनाएको छ । यसले पूर्वाधार तयार भएपछि मात्र सञ्चालन व्यवस्थापनबारे सोच्ने सरकारी प्रवृत्तिलाई फेरि झल्काएको गरेको छ ।

सुरुङमार्गबाट पहिलो दिन ७ हजार ५ सय सवारीसाधन सुरुङमार्गबाट आवतजावत गरेका थिए । ती सवारीसाधनबाट ११ लाख ७० हजार रुपैयाँ शुल्क संकलन भएको थियो । ठूलो संख्यामा सवारीसाधन व्यवस्थापन गर्नुपर्ने अवस्थामा भुक्तानी प्रणालीलाई चुस्त बनाउन नसक्नु भने गम्भीर व्यवस्थापकीय कमजोरी देखिएको हो ।

शुल्क लिने निर्णयसँगै सेवाग्राहीलाई सहज रूपमा शुल्क तिर्न सक्ने व्यवस्था गर्नु सम्बन्धित निकायको जिम्मेवारी हो ।
नागढुंगा सुरुङमार्गको हकमा भने शुल्क उठाउने व्यवस्था सुरु गरियो, तर त्यसलाई छिटो र सहज बनाउने स्वचालित प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिएन । फलस्वरुप यात्रुले सुरुङ प्रयोग गरेबापत शुल्क तिर्नु नै लाइन बस्नु परेको छ ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले अपेक्षितभन्दा बढी सवारी चाप भएका कारण टोल बुथमा चाप देखिएको बताए ।

‘नागढुंगाबाट बाहिरिने यात्रु कम हुन्छन् भन्ने सोचेर २ वटा बुथ मात्रै सञ्चालनमा ल्याएका थियौँ । बाहिरिने यात्रुको संख्या झनै बढ्यो । त्यसैले जाम भयो,’ उनले भने ।

नेपालकै पहिलो सुरुङमार्ग भएकोले पनि यसको प्राविधिक पक्षमा कमजोरी भएको उनको स्वीकार छ । स्वचालित रूपमा दस्तुर सङ्कलन गर्ने उद्देश्यले जडान गरिएको आरएफआइडी प्रविधि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा यो अवस्था सिर्जना भएको बताए । यो प्रविधि सञ्चालनमा आइसकेपछि बुथमा सवारीसाधनको जाम नहुने बताए ।

दसैँ र तिहारको बेलामा चहलपहल धेरै हुने भएकोले आउने र जाने यात्रुले सवारी साधनको चाप देखिएको उनले बताए ।

सवारीसाधनको लामो लाइन केवल भुक्तानी प्रणालीको प्राविधिक समस्या मात्र होइन, यो आयोजना सञ्चालनको तयारी, समन्वय र व्यवस्थापन क्षमतासँग जोडिएको विषय पनि हो । सडक बोर्ड, आयोजना कार्यालय र शुल्क संकलनको जिम्मा पाएको सेवा प्रदायकबीच पर्याप्त समन्वय नहुँदा समस्या देखिएको हो ।

निर्माण सुरु भएको ७ वर्षपछि सञ्चालनमा ल्याइएको सुरुङमार्गमा अझै व्यवस्थापकीय कमजोरी देखिनु राम्रो नभएको सरोकारवालाहरुको बुझाई छ ।

आयोजनाले भने तत्कालका लागि सर्भरको समस्या समाधान भएको र एक–दुई दिनभित्र बैंकमार्फत ट्याग वितरण सुरु हुने बताएको छ । करिब २९ अर्ब रुपैयाँको लागतमा निर्माण भएको नागढुंगा सुरुङमार्ग नेपालको पूर्वाधार विकासमा एउटा महत्वपूर्ण उपलब्धि हो । यसले काठमाडौं र धादिङबीचको आवागमन सहज बनाउने, सडक दुर्घटनाको जोखिम घटाउने र यातायातको समय बचत गर्ने अपेक्षा गरिएको छ । तर, पूर्वाधारको सफलता त्यसको भौतिक संरचना निर्माणमा मात्र सीमित देखिएको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।