काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप र कर्जा प्रवाह दुवैमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप २.८ प्रतिशतले बढेर ८५ खर्ब ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँ निक्षेप थपिएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप ३ प्रतिशत अर्थात् २ खर्ब १८ अर्ब ७२ करोड रुपैयाँले बढेको थियो। वार्षिक विन्दुगत आधारमा भने २०८३ असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.७ प्रतिशतले वृद्धि भएको छ।
निक्षेपको संरचनामा पनि परिवर्तन देखिएको छ। असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमध्ये चल्ती निक्षेपको हिस्सा ७.६ प्रतिशत, बचत निक्षेपको ४९.३ प्रतिशत र मुद्दती निक्षेपको हिस्सा ३४ प्रतिशत रहेको छ।
गत वर्षको सोही अवधिमा चल्ती निक्षेपको हिस्सा ६.५ प्रतिशत, बचतको ३८.७ प्रतिशत र मुद्दती निक्षेपको हिस्सा ४६.४ प्रतिशत थियो। यसले कुल निक्षेपमा बचत खाताको हिस्सा बढेको र मुद्दती निक्षेपको हिस्सा घटेको देखाउँछ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा पनि घटेको छ। २०८२ असोज मसान्तमा ३५.३ प्रतिशत रहेको संस्थागत निक्षेपको अंश चालु आर्थिक वर्षको असोज मसान्तमा घटेर ३२.५ प्रतिशत कायम भएको छ।
निजी क्षेत्रमा कर्जा प्रवाह ३.१ प्रतिशतले बढ्यो
बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ हुने कर्जा प्रवाहमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशत अर्थात् १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँले बढेर ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रमा कर्जा प्रवाह १.५ प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोड रुपैयाँले मात्रै बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८३ असोज मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा प्रवाह ८.३ प्रतिशतले वृद्धि भएको छ।
निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.९ प्रतिशत रहेको छ। व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ३७.१ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ। गत वर्षको असोजमा यी क्षेत्रको हिस्सा क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत थियो।
बैंक तथा वित्तीय संस्थाको प्रकारअनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३.२ प्रतिशतले बढेको छ। विकास बैंकहरूको कर्जा प्रवाहमा पनि ३.१ प्रतिशतको वृद्धि देखिएको छ। तर वित्त कम्पनीहरूको कर्जा प्रवाह भने १.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।







