सुनको मूल्य ३५ सय डलरसम्म झर्न सक्ने प्रक्षेपण, के कारण घट्दैछ ?


काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार गिरावट आउन थालेपछि सुनको बजारमा थप दबाब सिर्जना भएको छ । केही महिनाअघि ३ लाख ३९ हजार ३०० रुपैयाँ (ऐतिहासिक उचाइ)मा पुगेको सुनको मूल्य अहिले घटेर एक वर्षयताकै न्यून बिन्दुमा कायम भएको छ ।

सुनको मूल्यमा आएको गिरावट अझै रोकिने संकेत नदेखिएपछि विश्लेषकहरूले मूल्य थप घट्न सक्ने प्रक्षेपण गरेका छन् । विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ३ हजार ५०० अमेरिकी डलरसम्म झर्न सक्ने सम्भावना छ ।

गत जनवरी २९ मा प्रतिऔँस ५ हजार ५५६ अमेरिकी डलरभन्दा माथिको ऐतिहासिक विन्दुमा पुगेको थियो । अहिले सुनको मूल्य १ हजार ८२९ अमेरिकी डलरले घटेर प्रतिऔँस ३ हजार ७२७ अमेरिकी डलरमा झरेको छ ।

यसैगरी, गत फेब्रुअरीमा प्रतिऔँस १२० अमेरिकी डलरभन्दा माथि पुगेको चाँदीमा पनि उल्लेख्य गिरावट आएको छ । ऐतिहासिक विन्दुबाट आधाभन्दा बढी घटेर चाँदी अहिले ४५.२८ अमेरिकी डलरमा झरेको छ ।

सुनको मूल्यमा आएको गिरावटको प्रमुख कारण ब्याजदर र अमेरिकी डलरको मजबुती रहेको विश्लेषण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यका अनुसार सन् २०२५ देखि २०२६ को सुरुवातसम्म सुनको मूल्य निरन्तर बढ्नुमा विश्वव्यापी आर्थिक तथा राजनीतिक अनिश्चितता प्रमुख कारण बनेको थियो ।

‘सन् २०१३ मा पनि यस्तै अवस्था आएपछि केही दिन मूल्यमा सुधार देखिएको थियो र त्यसपछि ठूलो गिरावट सुरु भएको थियो,’ उनले भने, ‘यस वर्ष पनि त्यस्तै क्रम दोहोरिन सक्ने देखिएको छ ।’

उनका अनुसार विभिन्न क्षेत्रमा बढेको युद्ध तथा भूराजनीतिक तनाव, अमेरिकी अर्थतन्त्र र सरकारी ऋणप्रतिको चिन्ता, डलर कमजोर हुने अपेक्षा तथा विश्वका केन्द्रीय बैंकहरूले सुनको सञ्चिति बढाएका कारण सुनप्रतिको आकर्षण बढेर यसको मूल्य उच्च स्तरमा पुगेको थियो । सेयर बजार तथा अन्य जोखिमयुक्त सम्पत्तिमा अनिश्चितता बढ्दा लगानीकर्ताले सुरक्षित सम्पत्तिका रूपमा सुन रोजेका थिए ।

यता, चाँदीको मूल्य एक वर्ष अगाडि बढ्नुमा लगानीको मागसँगै औद्योगिक मागको अपेक्षाले पनि काम गरेको थियो । सौर्य ऊर्जा उपकरण, विद्युतीय सवारीसाधन, विद्युतीय उपकरण तथा विभिन्न प्रविधिमा चाँदीको प्रयोग हुने भएकाले माग बढ्ने अनुमान गरिएको थियो । सुनको मूल्य अत्यधिक महँगिएपछि तुलनात्मक रूपमा सस्तो विकल्पका रूपमा चाँदीतर्फ लगानीकर्ता आकर्षित हुँदा मूल्यवृद्धि तीव्र बनेको जानकारहरूको भनाई छ । तर, मूल्य निरन्तर बढेपछि बजारमा नाफा सुरक्षित गर्ने प्रवृत्ति बढ्यो र उच्च मूल्यमा खरिद गर्ने लगानीकर्ताले बिक्री गर्न थालेपछि मूल्यमा गिरावट आएको उनीहरू बताउँछन् ।

पछिल्लो समय सुनको मूल्यमा देखिएको तीव्र गिरावटको मुख्य कारण अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूले प्राप्त गरेको सफलता रहेको विश्लेषकहरूको भनाइ छ । डोनल्ड ट्रम्पको बाँकी राष्ट्रपतीय कार्यकालको दिशा तय गर्ने ठानिएको अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटले तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सीनेट) बहुमत प्राप्त गरेको छ ।

रिपब्लिकन पार्टीको वर्चस्व कायम रहँदै आएका टेक्सस, ओहायो र क्यान्ससमा समेत सीनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत आएपछि सेयर बजार उकालो लाग्यो । सेयर बजारमा लगानी बढेसँगै सुरक्षित सम्पत्ति मानिने सुनको भाउमा पहिरो गएको जानकारहरू बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा देखिएको उताचढावले नेपाली बजारमा पनि ठूलो दबाब सिर्जना गरेको छ । गत वर्ष माघ १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला हालसम्मकै उच्च विन्दु ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो । तर, त्यसयता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८० हजार रुपैयाँ भन्दा बढीले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ ।

नेपालमा सुनमा लगानी गर्ने प्रचलन सीमित रहे पनि पछिल्लो समय सुरक्षित सम्पत्तिको रूपमा गरगहना बनाउने प्रचलन बढेको थियो । उच्च विन्दुमा सुन खरिद गरेका आम उपभोक्ता तथा लगानीकर्ताहरूले अहिले उल्लेख्य नोक्सानी ब्यहोर्नुपरेको महासंघले जनाएको छ ।
त्यसैगरी, नेपाली बजारमा गत माघ १५ गते प्रतितोला ७ हजार ३०० रुपैयाँ पुगेको चाँदी ३ हजार ९६५ रुपैयाँले घटेर हाल ३ हजार ३३५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।