सिटिजन्स बैंकको लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा असुलीसम्बन्धी कार्यक्रम सम्पन्न


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुलीसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना तथा प्राथमिकताबारे छलफल गर्ने उद्देश्यले ‘सिटिजन्स बिल्डिङ स्केल एन्ड भ्यालुज : लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुली’ कार्यक्रम आयोजना गरेको हो।

सोमबार मंसिर ७ गते आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ कार्यकारी, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ। साथै, बैंकको केन्द्रीय कार्यालय र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत अन्तरक्रिया गरिएको थियो।

बैंकका अनुसार लुम्बिनी प्रदेशका ९ जिल्लामा ५१ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन्।

सिटिजन्स बैंकले पछिल्लो समय डिजिटल बैंकिङ तथा ग्राहककेन्द्रित सेवाको विस्तारलाई प्राथमिकता दिँदै विभिन्न नयाँ सेवा सञ्चालनमा ल्याएको जनाएको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ।

त्यस्तै, नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ पनि सुरु गरेको बैंकले जनाएको छ।

यसका अतिरिक्त बैंकले मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सीआरएन नम्बर प्राप्त गर्न सकिने सुविधा उपलब्ध गराएको छ। अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा पनि सञ्चालनमा ल्याएको छ।

बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गरेको जनाएको छ।

हाल बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८५ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार  १३ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।