काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई सफा बनाई काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

‘काठमाडौँ जलवायु कार्य सप्ताह’ लाई आज सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं ८ का सांसदसमेत रहेका मन्त्री श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण र सहरी पर्यावरण सुधारका लागि सङ्घीय सरकारका तर्फबाट ठोस कार्ययोजना सार्वजनिक गरिएको जानकारी दिए।

जथाभावी कङ्क्रिटका संरचना बन्दा खेत, पोखरी र खुला जमिन मासिएको, सहरको तापक्रम बढेको तथा वर्षाको पानी सोस्ने जमिन नहुँदा बाढीको जोखिम बढेको उनले उल्लेख गरे । धुलो–धुवाँले शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदाको अवस्था बिग्रँदै गएको उनको भनाइ थियो ।

जलवायु परिवर्तनले सङ्कट अझ थपेको बताउँदै श्रेष्ठले केही दिनको अवधिमा विभिन्न नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु र हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताए।

पछिल्ला ४ वर्षमा लोप हुन लागेका पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो ब्युँताएर भूमिगत जलभण्डार जोगाउन भूमिका खेलेकामा काठमाडौँ महानगरपालिका, कार्यवाहक प्रमुख र वडा अध्यक्षको उनले प्रशंसा गरे ।

उनका अनुसार बाढीको पूर्वसूचना र हिमनदी अनुगमन प्रणाली जडान गरिने, बाढी आउनुअघि नै वडा र घरपरिवारले जानकारी पाउन सकून् भनेर जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढी मोडलिङ र पूर्वसूचना प्रणालीमा महानगर तथा अन्य सहरसँग सहकार्य गर्ने योजना अगाडि सारिएको जानकारी दिए।

प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार  १३ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।