काठमाडौँ । चलचित्र हलमा प्रदर्शनरत नेपाली चलचित्रको पछिल्लो आम्दानी सार्वजनिक भएको छ । आइतबार मध्यरातसम्मको तथ्यांक अनुसार गत कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको भुवन केसीद्वारा निर्देशित फिल्म ‘बाटुलो जून’ ले यो अवधिमा कुल ८ करोड ३५ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको छ ।
हालसम्म चलचित्रको २ लाख ६९ हजार ५४४ वटा टिकट बिक्री भएका छन् । चलचित्रमा अनमोल केसी, प्रिन्सी खतिवडा लगायत कलाकारको भूमिका रहेको छ ।

त्यस्तै, ‘कबड्डी ५ : आप्टर द फाइनल म्याच’ ले सर्वाधिक कमाइ गरेको छ । सार्वजनिक विवरणअनुसार प्रदर्शनरत नेपाली फिल्ममध्ये ‘कबड्डी ५’ सबैभन्दा धेरै कमाई गरेको छ ।
कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको उक्त चलचित्रले ४ लाख २४ हजार ८५२ वटा टिकट बिक्री गर्दै १३ करोड २६ हजार रुपैयाँभन्दा बढीको कमाई गरेको छ ।
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ ले ३ लाख ६४ हजार ८०८ वटा टिकट बिक्री गर्दै १० करोड रुपैयाँ ३६ लाख ८३ हजार रुपैयाँभन्दा बढीको आम्दानी गरेको छ ।
त्यसैगरी, ‘आ बाट आमा २’ ले २ लाख ४३ हजार ८३६ वटा टिकट बिक्री गर्दै ७ करोड १८ हजार रुपैयाँभन्दा बढीको कमाई गरेको छ । असोज ३० गतेदेखि प्रदर्शनमा आएको उक्त चलचित्र पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित रहेकाले दर्शकको उल्लेखनीय साथ पाएको देखिन्छ ।
चलचित्र ‘बा : एक योद्धा’ले १ लाख २८ हजार २७५ वटा टिकट बिक्री गर्दै ३ करोड ५७ लाख ५६ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । असोज ९ गतेदेखि प्रदर्शनरमा आएको उक्त चलचित्रले राम्रो कमाई गरेको छ ।
कात्तिक २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पाँच पाण्डव’ को सुरुवाती व्यापार भने तुलनात्मक रूपमा कमजोर देखिएको छ । सार्वजनिक विवरणअनुसार चलचित्रले १२ हजार ८५० वटा टिकट बिक्री गर्दै ४५ लाख २२ हजार रुपैयाँ ३८८ रुपैयाँ मात्रै आम्दानी गरेको छ ।








