मनकामना केबलकार दुई करोड १२ लाखले चढे


चितवन । गोरखाको मनकामना दर्शन गर्ने सिलसिलामा गएको २८ वर्र्षमा दुई करोड १२ लाखभन्दा बढी यात्रुले मनकामना केबलकारको प्रयोग गरेको पाइएको छ ।

चितवनको इच्छाकामना गाउँपालिको चेरेसमा स्टेशन रहेको मनकामना दर्शन प्रालि आफ्नो केबलकारको यात्रा सफलता पूर्ववक पार गरिरहेको जनाएको छ ।

२९ औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “संस्थापक लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना र स्थापनामा सुरु भएको केबुलकारले नेपालको पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा एक अग्रणी उद्यमको रूपमा आफूलाई स्थापित गरेको छ ।”

विसं २०५५ मङ्सिर ८ गतेबाट सञ्चालनमा केवलकार आएको उक्त केवलकार ३.०२ किलोमिटर दूरीको छ । नेपालीसहित भारतीय र अन्य मुलुकका नागरिक मनकामना दर्शन गर्न उक्त केवलकार चढेर जान गरेका छन् ।

उक्त प्रालिले सहिद लखन गाउँपालिका र इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण शुभेच्छुकप्रति निरन्तर साथ र सहयोगका लागि कृतज्ञतासमेत व्यक्त गरेको छ ।

प्रालिले पछिल्लो समय यात्रुको माग, सेवा, सुविधा र हितलाई ध्यानमा राखेर मन्दिर नजिक मनकामना हिलक्रेस्ट रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार  १७ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।