काठमाडौँ । नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधिमा परिमार्जन गरिएको छ । जसअनुसार पहिले ३० सेकेन्डको पल्स दर कायम रहेकोमा अब सबै देशमा ६० सेकेन्डको पल्स दर कायम हुनेछ ।
दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट मिति भदौ २४ गतेको निर्णयअनुसार प्राप्त स्वीकृति बमोजिम उक्त पल्स दर कायम गरिएको हो । अब सबै देशका दूरसञ्चार सेवा प्रदायकहरूमा इन्टरनेसनल एक्सेस कोड ००÷१४२४÷१४२५÷१४४५ को प्रयोग गरी बहिर्गमन कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुनेछ ।
यसअघि मिति २०८२ साल फागुन १ गतेको निर्णयअनुसार प्राप्त स्वीकृति बमोजिम ५८ देशहरूमा यो पल्स दर पहिलेदेखि नै कायम थियो । अब बाँकी देशहरूमा समेत यही मङ्सिर ८ गतेदेखि नयाँ पल्स दर लागु हुनेछ ।
नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरूमा कल गर्नका लागि विभिन्न एक्सेस कोडको व्यवस्था गरेको छ । कल गर्नका लागि सुरुमा एक्सेस कोड र त्यसपछि कन्ट्री कोड पश्चात् सेवा प्रदायकको नम्बर डायल गर्नु पर्छ । विभिन्न देशमा कल गर्दा लाग्ने दररेट नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने प्रवक्ता डा। कमल लामिछानेले जानकारी दिए ।








