दश वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक, एघार महीनाभित्र सुन्दर काठमाडौँ

0
Shares

सरकारले आगामी १० वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक निर्माण गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सोमबार आयोजित साक्षात्कारमा मन्त्रालय दुई हजार ८०० किलोमिटर रेलमार्ग बनाउने योजनाका साथ लागिपरेको उल्लेख गर्दै आगामी ११ महीनाभित्र काठमाडौँ उपत्यकालाई सुन्दर नगरका रुपमा विकास गर्ने बताए ।

उनले काँकडभिट्टा–गड्डाचौकी–काठमाडौँ, भैरहवा तथा मुख्यमुख्य शहर जोड्ने रेलसेवा सञ्चालनका लागि डिपिआर तयार भइसकेको र विद्युतीय रेलमार्गको प्रारम्भिक अध्यययनको काम शुरु भइसकेको बताए ।

यस वर्षको गत असार २४ गतेसम्म छ, चार र दुई लेनका ९१५ किलोमिटर सडक निर्माण भएका र २४३ विभिन्न खाले पुल निर्माण कार्य पूरा भएको उनले जानकारी दिए ।

मन्त्री महासेठले आगामी दुई वर्षभित्र समुद्रमा नेपालको लोगोसहितको पानीजहाज सञ्चालन तथा क्रसबोर्डर रेलसेवा सञ्चालनका लागि भारतसँग सम्झौता भइसकेको बताए । उनले काठमाडौँ उपत्यकामा यात्रीमैत्री, अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री ६०० वटा विद्युतीय बस खरीद प्रक्रिया भइरहेको र यसका लागि रु ३०० करोड भुक्तानी भइसकेको जानकारी दिए ।