बैशाखको तुलनामा जेठ मसान्तमा बैंकहरुको निक्षेप बढ्दा कर्जा घट्यो


कोरोना महामारीका कारण बन्दाबन्दी सुरु भए पछि खस्किएको वाणिज्य बैंकहरुको निक्षेपमा सुधार आउन थालेको छ भने कर्जा लगानीमा भने गिरावट देखिएको छ । बैशाख महिनाको तुलनामा जेठ महिनामा निक्षेप संकलन बढाएका वाणिज्य बैंकहरुको कर्जा लगानीको आकारमा भने गिरावट आएको हो ।

बैशाख महिनामा कुल ११ अर्ब रुपैंया निक्षेप संकदन गरी ३८ अर्ब रुपैंया कर्जा लगानी गरेका वाणिज्य बैंकहरुले जेठ मसान्तमा २७ अर्ब रुपैंया निक्षेप संकलन गरी ३१ अर्ब रुपैंया कर्जा लगानी गरेका छन् । बैशाखको तुलनामा जेठमा वािण्ज्य बैंकहरुको निक्षेप संकलन १६ अर्ब रुपैंयाले बढेको छ भने कर्जा लगानी झण्डै ७ अर्ब रुपैंयाले घटेको छ ।

गत फागुन मसान्तमा वाणिज्य बैंकहरुको कुल निक्षेप ३८ खर्ब २६ अर्ब रुपैंया र कर्जा ३४ खर्ब १२ अर्ब रुपैंया रहेकोमा चैत मसान्तमा उक्त रकम क्रमशः ३९ खर्ब ४४ अर्ब र ३५ खर्ब ७३ अर्ब रुपैंया पुगेको थियो । यस आधारमा चैतमा मात्र १ खर्ब १८ अर्ब रुपैंया निक्षेप संकलन भई १ खर्ब ६१ अर्ब रुपैंया कर्जा परिचालन भएको थियो ।

बैशाख ११ गतेदेखि बन्दाबन्दी सुरु भएका कारण बैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरुको निक्षेप ३९ खर्ब ५५ अर्ब रुपैंया मात्र पुग्दा कर्जा परिचालन ३६ खर्ब ११ अर्ब रुपैंया पुगेको थियो । यो तथ्यांकका आधारमा बैशाख महिनामा वाणिज्य बैंकहरुमा ११ अर्ब रुपैंया मात्र निक्षेप संकलन हुँदा ३८ अर्ब रुपैंया कर्जा परिचालन भएको थियो ।

जेठ मसान्तमा आउँदा बैंकहरुको निक्षेप र कर्जा परिचालनको आकारमा केही सुधार भएको देखिन्छ । जेठ मसान्तसम्ममा बैंकहरुमा ३९ खर्ब ८२ अर्ब रुपैंया निक्षेप संकलन भएको छ भने ३६ खर्ब ४२ अर्ब रुपैंया कर्जा लगानी भएको छ । यो तथ्यांकका आधारमा हेर्दा जेठमा वाणिज्य बैंकहरुले २७ अर्ब रुपैंया निक्षेप संकलन गरी ३१ अर्ब रुपैंया कर्जा लगानी गरेका छन् ।

साप्ताहिक रुपमा हेर्दा बैशाख अन्तिम साता वाणिज्य बैंकहरुमा २३ अर्ब रुपैंया निक्षेप संकलन हुँदा १ अर्ब रुपैंया मात्र कर्जा प्रवाह भएको थियो । जेठ पहिलो साता यो रकम छ छ अर्बमा पुगेर बराबरी हुँदा निक्षेप तथा कर्जा परिचालनको कुल रकम १२ अर्बमा सिमित भएको थियो । बैंशाख अन्तिम साता निक्षप र कर्जा परिचालनको कुल रकम २४ अर्ब रहेकोमा बैशाख पहिलो साता १२ अर्बमा मात्र सिमित भएको थियो ।

जेठ दोस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ५ अर्बले ऋणात्मक भई ९ अर्ब रुपैंया कर्जा परिचालन भएको थियो । जेठ तेस्रो सातामा आइपुग्दा बैंकहरुले १२ अर्ब निक्षेप संकलन गरी ८ अर्ब रुपैंया कर्जा परिचालन गरेका थिए । उक्त सातामा बैंकहरुले संकलन गरेको निक्षेप र कर्जाको कुल रकम २० अर्ब रुपैंया हो ।


जेठ चौथो सातामा वाणिज्य बैंकहरुमा १३ अर्ब रुपैंया निक्षेप संकलन भएको छ भने ८ अर्ब रुपैंया कर्जा परिचालन भएको छ । यो साताको निक्षेप र कर्जाको कुल रकम २१ अर्ब रुपैंया हो ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालका अनुसार बन्दाबन्दीका कारण लगानीका क्षेत्रहरुमा आएको संकुचनले वाणिज्य बैंकबाट प्रवाह हुने कर्जाको रकमका संकुचन देखिएको हो । शेयर बजार बढेको अवस्थामा बैंकहरुबाट समग्रमा मार्जिन कर्जा मात्र प्रवाह भएकाले निक्षेपको आकार धेरै भएको हो ।

साथै प्रत्रितपत्र (एलसी) को भुक्तानी पनि भइरहेको उनले बताए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।