नेप्से सूचकमा दबाब कायमै, कारोबार रकम ११ अर्बभन्दा तल झर्यो

0
Shares

धितोपत्र बोर्डले मंगलबार ५१ वटा सूचीकृत कम्पनीहरुको नाम नै सार्वजनिक गरेर अनुसन्धान प्रकृयामा तानेपछि साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजारमा त्यसको असर कायम नै देखिएको छ ।

बुधबार ५२ अंक बढीले घटेको नेप्से सूचक बिहीबार भने तीव्र उतार चढावका बीच १.३० अंकले मात्र घटेर २९६८.४२ बिन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि ०.५८ अंकले घटेर ५४१.१२ बिन्दुमा झरेको छ ।

कारोबारमा आएका १३ मध्ये ७ समुहको सूचक ओरालो लागेपछि नेप्सेमा दबाब देखिएको हो ।

विकास बैंक, वित्त र अन्य समुहको सूचकमा १ प्रतिशत धेरै बढोत्तरीहुँदा लघुवित्तको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

शेयर बजारको ओरालो यात्राले बिहीबार कारोबारमा समेत सुस्तता छाएको छ । बुधबार १५ अर्ब ४८ करोडको शेयर कारोबार भएको बजारमा बिहीबार कारोबार रकम ४ अर्ब ५८ करोड रुपैयाँले घटेको हो ।

यसदिन कूल २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता शेयर १ लाख २४ हजार ५६१ संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँ पुगेको छ ।

बिहीबार कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ७६ करोड ७४ लाखको शेयर कारोबार भएको हो ।

यसैगरी नेशनल हाइड्रोपावर २९ करोड, नेपाल इन्स्योरेन्स २७ करोड, निफ्रा २४ करोड, हिमालयन डिष्टिलरी २४ करोड , एनएलजी इन्सयोरेन्स २३ करोड, लुम्बिनी विकास बैंक २२ करोड, अरुण भ्याली २२ करोड, अपि पावर २१करोड र आइएमई जनरल इन्स्योरेन्सको २० करोड बढीको शेयर कारोबारमा आएको छ ।

बिहीबार कुनैपनि कम्पनीको शेयरमूल्यमा सर्किट लागेर बढ्ने वा घट्ने अवस्था देखिएन । बढ्ने र घट्ने दुबै कम्पनीहरुको मूल्य ५ प्रतिशत हाराहारीम घटबढको अवस्था रह्यो ।

आज खानीखोला हाइड्रोपावर, नेपाल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, कालीका पावर कम्पनी, र सोल्टी होटलको शेयरमूल्य ५ प्रतिशतले बढेको छ । मल्टिपर्पस फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, बेष्ट फाइनान्स र एनएलजी इन्सयोरेन्सको मूल्य साढे ४ प्रतिशत धेरैले बढेको छ ।

उता यसदिनको कारोबारबाट सिईडिबी हाइड्रोपावरको शेयरमा लगानी गरेकाले ६.९६ प्रतिशतले गुमाएका छन् । बिहान सर्किट मूल्यमा बढेको कम्पनीको शेयर अधिक मुल्यवृद्धि पश्चात बिहीबारदेखि घट्न थालेको हो । यसअघि आईपीओ जारी पश्चात कम्पनीको शेयर लगातार ६ कारोबार दिन सर्किट मूल्यमा बढेर सातौं दिनमा आएर घटेको हो । यससँगै बिहान ८०६ रुपैयाँ पुगेको कम्पनीको शेयरमूल्य ६८५ मा झरेर कारोबार बन्द भएको छ ।

यसैगरी गोर्खाज फाइनान्स, माउन्टेन इनर्जीको ३ प्रतिशत धेरै घट्दा हिमालयन पावर पार्टनर, फस्ट माइक्रो, ङादी ग्रुप पावर, ओरियन्टल होटल, स्वरोजगार लघुवित्त, इन्फनिटी लघुवित्त र नेपाल एसबिआई बैंकको शेयरमा लगानी गरेकाले पनि २ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।

बजार घटेसँगै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण ४१ खर्ब ३९ अर्ब २८ करोड रुपैयाँमा समेटिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ असार २०७८, बिहिबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।