साढे दुई प्रतिशतले नेप्से घट्दा बजार पूँजीकरणमा एक खर्बको क्षति

0
Shares

शेयर बजार सूचक मापक नेप्से सोमबार एकैदिन २. ४५ प्रतिशत अर्थात ७१.०६ अंकले घट्दा लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरणमा करिब एक खर्बको क्षति भएको छ ।

सोमबार मात्रै बजारमा कुल बजार पूँजीकरण ९८ अर्ब ९७ करोड रुपैयाँले घटेर ३९ खर्ब ३७ अर्ब ६७ करोड रुपैयाँमा झरेको छ ।

आइतबार ४० खर्ब ३६ अर्ब ३९ करोड बजार पूँजीकरण रहेको थियो । यसबीचमा नेप्सेमा जेठ ३१ गते सोमबार नेप्से सूचक सर्वाधिक बिन्दु ३ हजार २५ दशमलव ८३ बिन्दुमा पुगेको दिन बजार पूँजीकरण पनि सबैभन्दा धेरै ४२ खर्ब १६ अर्बको कुल बजार पूँजीकरणसम्म पुगेको थियो ।

 

सोमबार कारोबारमा आएका सबै १३ वटै समुहको सूचकमा गिरावट आएको छ भने २०० कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ ।

चार कम्पनी र डिबेचर सहित १८ वटा स्क्रिप्टको मात्र मूल्य बढेको यस दिनको बजारमा ७ कम्पनीको शेयरमूल्य भने स्थीर रहेको नेप्सेले जनाएको छ ।

सोमबार कुल २२७ कम्पनीका २ करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर १ लाख २७ हजार ८३७ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम ११ अर्ब ६१ करोड ९० लाख पुगेको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले असार १ गते मंगलबार ५१ कम्पनीको शेयरमा लगानी जोखिमपूर्ण रहेको भन्दै सार्वजनिक विज्ञप्ती जारीपछि बजारमा प्यानिक सेल देखिएको हो । विज्ञप्ती भोगेको पछिल्लो चार कारोबार दिनमा मात्रै नेप्से १८८ अंकले घटेको छ भने यसबीचमा कुल बजार पूँजीकरण २ खर्ब ३४ अर्ब ५८ करोडले ह्रास आएको छ ।

कुल ग्राहस्थ उत्पादनको आधार शेयर बजार ‘फेयर भ्यालू’ बाट ‘ओभर भ्यालूड’ तर्फ गएको हो । पछिल्लो समयमा निरन्तर सुधार धितोपत्र बजारमा सूचीकृत धेरै शेयर मूल्य उच्च बिन्दुमा पुगेको हुनाले ओभर भ्यालुडको नजिक पुगेको हो ।

केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७६।७७ को अन्त्य सम्ममा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ छ । जयसअ आधारमा नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपि) भन्दा शेयर बजार पूँजीकरण माथि पुगेको छ ।

धितोपत्र बजार बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ५० देखि ७५ प्रतिशतसम्म रहेको भने समान्तर धितोपत्र बजार ‘अण्डर भ्यालुड’ रहेको बुझिन्छ । यस्तै ७५ देखि ९० प्रतिशतमा रहनुलाई धितोपत्र बजार सन्तुलित अवस्थामा रहेको बुझिन्छ । त्यसैगरी कुल ग्राहस्थ उत्पादनको तुलनामा धितोपत्र बजारको पूँजीकरण १०० देखि ११५ प्रतिशतसम्म छ भने त्यो ओभर भ्यालुड भएको मानिन्छ ।

नेपालको धितोपत्र बजार पूँजीकरण सोमबार फ्लोट क्यापिटललाइजेसन १३ खर्ब ७० अर्ब ९४ करोड रहेको छ । गत जेठ ३१ गते फ्लोट क्याप १४ खर्ब ७६ अर्बसम्म पुगेकोमा यसबीचमा १ खर्ब ६ अर्बले घटेको देखिन्छ ।

कोभिडको दोस्रो लहरका कारण जारी निषेधाज्ञाका बीच अर्थतन्त्रका सबैजसो सूचक संकुचित भइरहँदा यसबीचमा खुला भएको एकमात्र लगानीका लागि सहज माध्यम शेयर बजार भएपछि नेप्सेमा लगातारको वृद्धि देखिरहेको थियो । कमजोर वित्तीय अवस्था भएका कम्पनीमा कर्नरिङ्ग र सर्कुलर ट्रेडिङ्गबाट अस्वभासिवक रुपमा मूल्य बढाउन थालिएपछि बोर्डले कम्पनीको सूची नै बाहिर ल्याएको थियो । उक्त कार्यविरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत दायर भई अदालतबाट आइतबार बोर्डलाई १५ दिनभित्र कारण देखाउ आदेश जारी भएको अवस्था छ ।

कोरोना भाइरसले आर्थिक गतिविधि अस्तव्यस्त भएपछि शेयर बजार भने निरन्तर नयाँ उचाई तर्फ देखियो । हरेक दिनजसो शेयर बजारले नयाँ रेकर्ड समेत बनाउँदै आएको छ । लगानीका क्षेत्र सीमित भएपछि उद्योगी व्यापारी लगायतले शेयर बजारलाई एक मात्र लगानीको क्षेत्र बनाएपछि निरन्तर बढ्दो क्रममा रहेको हो ।

नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपुर्ण भूमिका हुन्छ । बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तिको आकार हो ।

नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ असार २०७८, सोमबार  १६ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।