तोकिएको भन्दा बढि भाडा लिने ८ व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा

0
Shares

यात्रुसँग तोकिएको भन्दा बढि भाडा लिने ८ जनालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाण्डौं बाहिर जाने यात्रुहरुबाट तोकिएको भन्दा तेब्बर बढि भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दाङ घर भएका वर्ष ३५ का सन्तोष दमाई, बर्ष ३८ का कुशलराम बस्नेत, बर्ष २८ का गिम बहादुर गाहा मगर, रूपन्देहीका वर्ष ३६ का दिप नारायण थापा, कपिलवस्तुका वर्ष ४४ का शिवलाल घिमिरे र मोरङका ३१ वर्षे युवराज ढकाल रहेका छन् । उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।

त्यसैगरी काठमाण्डौबाट बा १६ च २१८४ नम्बरको प्राईभेट गाडीमा उदयपुरसम्म लान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ बर्षे राकेश रसाईली पक्राउ परेका छन । रसाईलीले प्रति यात्रुसँग ३ हजार रूपैयाँका दरले भाडा लिएका थिए ।

यसैगरि चावहिलबाट सोलुखुम्बु जाने यात्रुहरुसँग प्रति ब्यक्ति ५ हजारसम्म भाडा लिने २५ बर्षका झनक बहादुर घिमिरेलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
घिमिरेले ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढि भाडा लिएपछि पक्राउ परेका हुन । पक्राउ परेका ब्यक्तिहरुलाई आबश्यक कारवाहीको लागी प्रहरी बृत्त गौशालामा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी भएको निषेधाज्ञा पश्चातको यो अबधीमा उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा आठ गुणाबढि सम्म भाडा लिई यात्रुलाई ठगी गर्ने ६१ जना काउण्टरका कर्मचारीहरुलाई पक्राउ गरि कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

साथै ट्राफिक महाशाखाले तोकिएको भन्दा बढि भाडा लिएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगीन सक्ने कुरालाई मध्यनजर गर्दै बिशेष टोली परिचालन गरेको छ ।

उक्त टोलीले बढि भाडा लिन सक्ने सम्भावित काउण्टरहरुमा निगरानी गर्ने, आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढि भाडा लिने व्यक्तीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १६ असार २०७८, बुधबार  १३ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।