वैदेशिक रोजगारीमा जाने कामदारको साउदीमा क्वारेन्टिन बस्दाको खर्च रोजगारदाताले व्यहोर्ने

0
Shares

साउदी अरबमा संस्थागत क्वारेन्टिन बस्दाको खर्च रोजगारदाताले बेहोर्ने भएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार साउदी अरब जाने नेपाली कामदारको संस्थागत क्वारेन्टिन बस्दा लाग्ने खर्च रोजगारदाताले नै व्यहोर्ने भएका हुन् ।

विभागका अनुसार साउदी सरकारले गत २०२१ मे २० गतेबाट साउदी अरब प्रवेश गर्न कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा नगरेका विदेशी नागरिक साउदीमा अवतरण भएपछि अनिवार्य रुपमा सात दिनको संस्थागत क्वारेन्टिन बस्नु पर्ने नियम लागू गरेको थियो ।

क्वारेन्टिन वापतको खर्चको भार कामदारलाई पर्न नदिने व्यवस्था गरिदिन परराष्ट्र मन्त्रालयले निरन्तर पहल गर्दै आएको थियो । विभागका अनुसार दूताबासबाट साउदी परराष्ट्र मन्त्रालयमा १० जुन र १३ जुनमा पत्राचार गरिएको थियो ।

सोही पत्रचारको जवाफ दिँदै साउदी सरकारले संस्थागत क्वारेन्टिनको खर्च सम्बन्धित रोजगारदाताले र घरेलु कामदारको हकमा सम्बन्धित रिक्रुटिङ एजेन्सीले व्यहोर्ने व्यवस्था गरेको विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले जानकारी दिए ।

साउदी जाने नन् इम्यून विदेशी नागरिकले संस्थागत क्वारेन्टिन बापत लाग्ने खर्च हवाई टिकट लिँदाको समयमै बुझाउनु पर्ने व्यवस्था छ ।

सात दिनको संस्थागत क्वारेन्टिन खर्च करिब १ हजार अमेरिकी डलरको हाराहारीमा तोकेको विभागले जनाएको छ । छुट्टीमा घर गई साउदी फर्किन लागेका र पहिलो पटक साउदी अरब जान लागेका नेपाली कामदारहरू मारमा परेका थिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ असार २०७८, मंगलबार  १४ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।