शिवम् सिमेन्टले तिरेन दुई अर्ब ३४ करोड महसुल

0
Shares

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण शाखा हेटौँडाले सञ्चालित शिवम् सिमेन्ट उद्योगबाट डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापतको दुई अर्ब ३४ करोड विद्युत् महसुल नतिरेको जनाएको छ ।

शिवम् सिमेन्टले विगत छ वर्षदेखि उद्योग सञ्चालनका लागि लिएको सो विद्युत् लाइनबापतको महसुल तिर्न बाँकी रहेको बताइएको छ । विसं २०७२ देखि २०७५ सम्मको डेडिकेटेड फिडर प्रयोग गरेको र त्यसको रकम नतिरेको वितरण शाखा प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए ।

शिवम् सिमेन्टले विद्युत् महसुल तिर्न आलटाल गरेपछि सो शाखाले लाइन काटिने सूचना प्रकाशन गरेको थियो । त्यसपछि उक्त उद्योगले प्राधिकरणको विरुद्धमा अदालत पुगेको थियो । पाटन उच्च अदालत हेटौँडाले प्राधिकरणको पक्षमा फैसला गरेको थियो । तथापि शिवम् सिमेन्ट उद्योगले डेडिकेटेड फिडर प्रयोगबापतको महसुल बुझाउन आनाकानी गर्दैआएको प्रमुख ठाकुरको भनाइ छ ।

शिवम्ले प्राधिकरणलाई तिर्नुपर्ने रकम रु एक अर्ब २१ करोड रहेको भए पनि हालसम्म महसुल नतिरेको कारण अहिले जरिवानासहितको रकम दुई अर्ब ३४ करोड पुगेको हेटौँडा वितरण शाखाको लेखा शाखाले जनाएको छ ।

उता उद्योगको व्यवस्थापन पक्षमा उक्त महसुलको बक्यौता सम्बन्धमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । हेटौँडा विद्युत् शाखाअन्तर्गत करिब ६० हजार विद्युत् मिटर लिने ग्राहक रहेको छ । विद्युत् सेवा लिएबापत मासिक रु १८ करोड विद्युत् महसुल प्राप्त हुने गरेको बताइएको छ । अवैधरुपमा विद्युत् चोरी गर्ने र महसुल नतिर्नेमाथि कारवाही र निरन्तर अनुगमन भइरहेको ठाकुरले जानकरी दिए।

साथै विद्युत् रकम नबुझाउनेको लाइन काट्ने कार्य पनि जारी रहेको उनले भने । अहिले नयाँ ट्रान्सर्फमर जडान गर्ने र पुरानो काठका पोल विस्थापित गर्ने काम उक्त शाखाबाट भइरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।