एघार महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियो

0
Shares

चालु आर्थिक वर्षको एघार महिना अर्थात जेठ मसान्तसम्मा ८ खर्ब ७० अर्ब ९४ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२.६ प्रतिशतले धेरै हो।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । यस्तै अमेरिकी डलरमा हुने विप्रेषण आप्रवाह पनि १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ११.४ प्रतिशतले वृद्धि भई ९ खर्ब ७१ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.९ प्रतिशतले घटेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।