आईपीओ जारी गरेका तीन कम्पनीको दोस्रो बजारमा कतिमा खुल्छ पहिलो कारोबार ?

0
Shares

गत आर्थिक वर्षको अन्तिममा शेयर निष्काशन गरी बाँडफाँड गरेका जीवन विकास लघुवित्त, मनकामना स्मार्ट लघुवित्त र युनियन लाइफको धितोपत्रको नेप्से, सिडिएस एण्ड क्लियरिङमा सूचीकृत भई दोस्रो बजारमा कारोबार खुल्ने अन्तिम चरणमा रहेको छ । तीनवटै कम्पनी नेप्सेमा सूचीकृत हुन बाँकी रहेका छन् ।

तीनवटै कम्पनीले जारी गरेको शेयरमा आवेदकलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । आईपीओ शेयर पाउने लगानीकर्ताहरुलाई अब चासो बढेको छ आफ्नो शेयरको पहिलो कारोबार कतिमा खुल्ला भन्ने ?

लगानीकर्ताको यहि चासोलाई सम्बोधन गर्नका लागि नोटबजारले सम्बन्धीत कम्पनीको पछिल्लो परिस्कृत वित्तीय विवरणका आधारमा पहिलो कारोबार कतिमा खुल्छ भनेर यो सामाग्री तयार पारेका छौं ।

कतिमा खुल्दैछ पहिलो कारोबार ?

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज प्रदान गर्दा कम्पनीले सूचीकरणका लागि पेश गरेको कागजातको आधारमा सम्बन्धीत कम्पनीको पछिल्लो लेखापरीक्षण प्रतिवेदनमा उल्लेख रहेको प्रतिशेयर नेटवर्थलाई आधार मान्ने गरेको छ ।

नेप्सेले कारोबार रेञ्ज तोक्दा कम्पनीको प्रतिशेयर नेटवर्थलाई न्यूनतम र सो मूल्यको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।

जीवन विकास लघुवित्तले प्रकाशन गरेको विवरण पत्र अनुसार लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७६/०७७ मा कम्पनीको प्रतिशेयर नेटवर्थ ३०५.२७ रुपैयाँ छ । यस्तै मनकामना लघुवित्त वित्तिय संस्थाको प्रतिशेयर नेटवर्थ ११०.८४ रुपैयाँ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी प्रतिशेयर नेटवर्थ ११५.१३ रुपैयाँ रहेको छ ।

जीवन विकास लघुवित्तको आईपीओले आर्थिक वर्ष २०७६/०७७ मा कायम भएको परिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको नेटवर्थका आधारमा पहिलो कारोबारका लागि न्यूनतम रेञ्ज ३०५.२७ रुपैयाँदेखि अधिकतम ९१५.८१ रुपैयाँसम्म प्राप्त गर्नेछ ।

यसैगरी मनकामना लघुवित्त वित्तिय संस्थाले प्रकाशन गरेको विवरण अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कम्पनीको प्रतिशेयर नेटवर्थ ११०.८४ रुपैयाँ छ । जसका आधारमा नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम रेञ्ज ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँ प्रदान गर्नेछ ।

यस्तै, युनियन लाइफ इन्स्योरेन्सले प्रकाशन गरेको विवरण पत्र अनुसार आर्थिक वर्ष २०७५/०७६ मा कम्पनीको प्रति शेयर नेटवर्थ ११५.१३ रुपैयाँ छ । जसका आधारमा हेर्दा नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि न्यूनतम ११५.२३ रुपैयाँ र अधिकतम ३४५.३९ रुपैयाँ प्रदान गर्नेछ ।

यसअनुसार कारोबार खुल्दा नेटवर्थदेखि अधिकतम रेञ्जसम्मको जुनसुकै मूल्यमा शेयर कारोबार खुल्न सक्नेछ ।

जीवन विकास लघुवित्तले सर्वसाधारणमा असार ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर जारी गरेको थियो । उक्त शेयर असार २३ गते बाँडफाँड भएको हो । कम्पनीको आईपीओ १ लाख ८४ हजार ८०१ जना आवेदकले १० कित्ताका दरले १८ लाख ४७ हजार ९६० कित्ता शेयर पाएका छन् । १ लाख ८४ हजार ८०१ जनामध्ये ५ जना आवेदकले थप १ कित्ता सहित ११ कित्ताका दरले शेयर पाएका थिए ।

यसैगरी मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि २१ ग्तेसम्म सर्वसाधारणका लागि साधारण शेयर जारी गरेको थियो । उक्त शेयर असार २८ गते बाँडफाँड भएको छ । लघुवित्तको आईपीओ ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन् । यी मध्ये पनि मध्ये पनि २ जनाले थप १ कित्ता अर्थात ११ कित्ता शेयर पाएका छन् ।

यस्तै, युनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि २८ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता इन्स्योरेन्सका कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । उक्त शेयर असार ३१ गते बाँडफाँड भएको थियो ।

कम्पनीको शेयरमा आवेदन दिएका आवेदकमध्ये ५ लाख ८० हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका थिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ४ श्रावण २०७८, सोमबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।