
लक्ष्मी उन्नति कोषले नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा पहिला लाभांश घोषणा गरेपछि मंगलबारको बजारमा लगानीकर्ताको पहिलो रोजाइमा म्युचुअल फण्डका इकाईहरु परेका छन् ।
गत आर्थिक वर्षदेखि (साउन ११ देखि १४ गतेसम्म इकाई बिक्री) सञ्चालनमा आएको लक्ष्मी उन्नति कोेषले आफ्ना इकाईधनीलाई आकर्षित प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।
लगानीकर्ताको अपेक्षाभन्दा धेरै लक्ष्मी उन्नति कोषले गत आवको नाफाबाट फण्डका इकाईधनीलाई कर सहित २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताको रोजाइमा म्युचुअल फण्डका इकाई परेका हुन् । लगानीकर्ताको उच्च आकर्षणले म्युचुअल फण्डको सूचक ५.२६ प्रतिशतले बढेको छ ।
कारोबारको एक घण्टा अवधिमा मूल्य बढ्ने दश कम्पनीमा दशवटै म्युचुअल फण्डका इकाई रहेका छन् । यी फण्डको मूल्य ५.८२ देखि १०.०४ प्रतिशतसम्म बढेको छ । लक्ष्मी उन्नति कोषको सबैभन्दा धेरै बढेको छ भने ग्लोबल आयएमई समुन्नत स्कीमको करिब ६ प्रतिशतले बढेको छ ।
शेयर बजार वियरिस ट्रेण्डमा रहँदा अंकित मूल्यभन्दा कम ७ रुपैयाँसम्म झरेको फण्डको मूल्य हाल अधिकतम २१.४७ रुपैयाँसम्म पुगेको छ । शेयर बजारमा आएको बुलिस ट्रेण्डपछि म्युचुअल फण्डले शेयर बिक्रीबाट मनग्य नाफा आर्जन गरेपछि प्रतिइकाई खुद सम्पत्ति मुल्य बढेपछि फण्डको मुल्य पनि आकाशिएको हो ।
उच्च शेयरमूल्य बढ्ने कम्पनीमा मात्र होइन मंगलबारको बजारमा धेरै माग र आपूर्ति हुने कम्पनीको सूचीमा पनि म्युचुअल फण्डहरुको इकाई नै अग्रस्थानमा रहेका छन् । यद्यपी ५० करोडदेखि डेढ अर्ब हाराहारीमा सञ्चालित कोषको मूल्य दश रुपैयाँ अंकित रहेको र सबै इकाई कारोबारमा नआउँदा कारोबार रकममा भने सूचीकृत अन्य कम्पनीहरु अगाडि छन् । अन्य कम्पनीको शेयरमूल्य धेरै हुँदा कारोबार रकममा उनीहरु नै अग्रस्थानमा देखिएका हुन् ।

सूचीकृत अन्य कम्पनीहरुको हकमा वित्तीय विवरण तयार पारेर नियामक निकायबाट स्वीकृत गरी आन्तरिक र बाह्य लेखापरीकद्धारा लेखाक्षण गर्नुपर्ने भएकाले लाभांशको वितरणको प्रकृया सम्पन्न गर्न समय लाग्ने गरेको छ । तर म्युचुअल फण्डको हकमा वित्तीय विवरण तयार पारेर लेखापरीक्षणपछि सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सञ्चित नाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गर्नसक्ने व्यवस्था रहेको छ ।
सञ्चालक समितिबाट प्रस्तावित यस्तो लाभांश योजना सञ्चालनको स्वीकृती दिने नियामक निकाय धितोपत्र बोर्डलाई जानकारी दिने गरिएपनि बोर्डबाट स्वीकृति वा परिमार्जन नहुने भएकाले फण्डले गरेको आम्दानीबाट इकाईधनीलाई छिटो लाभांश वितरण गर्नसक्ने हुन्छन् ।
सोही कारणबाट आर्थिक वर्षको समाप्तीसँगै म्युचुअल फण्डले छिटो लाभांश प्रस्ताव र वितरण गर्नसक्छन् । यहि कारणले पनि फण्डको इकाई खरीदमा चाप परेको हो ।
आगामी दिनमा अन्य फण्डहरुको पनि लाभांश घोषणा हुँदै जाँदा लगानीकर्ताको नजर पर्नेगरी बढ्न नसकेको फण्डको इकाईमूल्यले अब भने लगानीकर्ताको नजर कब्जा गर्नेगरी वृद्धि हुने छाँटकाँट देखाएको छ । मंगलबारको फण्डहरुको इकाई वृद्धि त्यसको प्रारम्भ हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया