जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गर्ने प्राथमिक शेयर (आईपीओ) ले डबल बि रेटिङ पाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालबाट रेटिङ गराएको हो ।
जाल्पा सामुदायिक लघुवित्तको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको हो । यो रेटिङ प्राप्त संस्थाले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ । साथै, यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।
कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । आइपीओ निष्काशन सम्बन्धी कार्य गर्न कम्पनीले प्रभु क्यापिटलसँग सम्झौता गरिसकेको छ । बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रमा लघुवित्त संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।
कम्पनीले आइपीओ निष्कासन गर्नको लागि असार २० गते नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ । अब बोर्डबाट आवश्यक प्रक्रिया पूरा गरेर स्वीकृती पाएपछि सर्वसाधारणमा आईपीओ जारी हुनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी १० करोड ७८ लाख रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड २९ लाख ७३ हजार नाफा कमाएको छ । कम्पनीले जगेडामा २६ करोड ६३ लाख ८७ हजार सञ्चित छ ।कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७७.८९ रुपैयाँ छ ।
आईपीओ निष्कासन पछि उक्त पूँजी १६ करोड पुग्नेछ । पोखराको सिमलचौरमा प्रधान कार्यलय रहेको कम्पनीले हालसम्म २० जिल्लामा लघुवित्त व्यवसाय प्रदान गर्दै आएको छ । जाल्पाले यसअघि २०७७ मंसिर १६ गतेदेखि महिला सामुदायिक लघुवित्तलाई प्राप्ती गरेर एकीकृत कारोबार गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया