नयाँ कम्पनीको शेयर कारोबारमा आउनै मुस्किल, यूनियन लाइफको पहिलो दिन ८० कित्ता मात्र कारोबार

0
Shares

 

नेप्सेमा सूचीकृत भएर पहिलो पटक धितोपत्रको दोस्रो बजारमा आउने कम्पनीहरुको शेयर नियमित कारोबारमा आउन मुस्किल देखिने गरेको छ ।

शेयर बजार बुलिस प्रवृत्तिमा रहेको र नेप्सेले कम्पनीके पहिलो कारोबारका लागि तोक्ने ओपनिङ्ग रेञ्ज तल हुँदा निकै कम मात्र शेयर कारोबार आउँदा शेयर खरीद गर्न चाहने लगानीकर्ताले शेयर किन्न नसक्ने अवस्था देखिने गरेको छ । शेयर बजार वियरिस प्रवृत्तिमा रहँदा कारोबारमा आएको १,२ दिनभित्रै शेयर बिन पाइनेगरेपनि बजार बुलिस प्रवृत्तिमा रहँदा भने हप्तौंसम्म शेयर खरीद गर्न चाहनेले शेयर पाउन सक्दैनन् ।

सर्वसाधारणमा ६४ लाख ५० हजार कित्ता शेयर जारी गरेको युनियन लाइफको कारोबार खुलेको पहिलो दिन सोमबार दिनभरमा जम्मा ८० कित्ता शेयर मात्र कारोबारमा आएको छ । प्रि ओपनिङ्गमा १० कित्ता शेयर कारोबार भएर सुरु भएको कम्पनीको शेयर चार घण्टाको नियमित समयमा थप ७० कित्ता मात्र कारोबारमा आएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका युएल सिम्बोलबाट कम्पनीको शेयर कारोबारमा आएको छ । पहिलो दिन यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ६.०८ प्रतिशत बढेर ३६२ दशमलव ८० पुगेको छ । कम्पनीको शेयर मूल्य प्रि ओपन सेसनमा प्रतिकित्ता ३४२ रुपैयाँमा कारोबार खुला भएको थियो ।

जबकि कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम असार ३१ गते गरिएको बाँडफाँडमा ५ लाख ८० हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका थिए । करिब ६ लाख जनाले शेयर पाएपनि ओपनिङ्ग रेञ्ज कम हुँदा शेयर बिक्रीमा कठिनाई देखिएको हो ।

बुलिस बजारमा सुरुवातमा नेप्सेमा कारोबार खुल्ने कम्पनीको मूल्य कम हुँदा दोस्रो बजारमा उच्च खरीद चाप देखिने गरेको छ भने बिक्रीकर्ता शुन्य प्रायः हुने गरेका छन् । उच्च खरीद चापले कतिपय बेला त नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम समेत बिग्रने गरेको छ ।

मुस्किलले १० कित्ताका दरले ८ वटा कारोबार हुँदा कारोबार खुल्ने कम्पनीको शेयर खरीदका लागि भने १० हजारभन्दा बढी अर्डर टिएसएसमा आउने गरेको छ । न्यून संख्यामा शेयर जारी गर्ने लघुवित्तको शेयरमा भने सर्वसाधारणमा बिक्री गरेको कित्ताभन्दा धेरै कित्ता शेयरको माग एकै दिनमा आउने गरेको छ ।

युनियन लाइफको ७० प्रतिशत संस्थापक सहित २ करोड १५ लाख कित्ता शेयर आइतबार सूचीकृत भएको थियो । कम्पनीले पहिलो कारोबारको लागि ११५.१३ देखि ३४५.३९ रुपैयाँसम्म ओपन रेञ्ज पाएको थियो ।

सोमबारदेखि कारोबार खुल्नुपर्ने मनकामना स्मार्ट लघुवित्तको सोमबार कारोबार हुन सकेन । न्यून संख्यामा शेयर जारी गरेको लघुवित्तको स्पेशल प्रि ओपन सेसन सोमबार कारोबारमा म्याच हुन नसकेपछि कारोबार हुन नसकेको हो ।  मनकामना कम्पनीले सर्वसाधारणमा चुक्ता पूँजीको ३२ प्रतिशत बराबर अर्थात ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री गरेको थियो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि एमकेएलबि कारोबार संकेत (सिम्बोल) पाएको छ ।

पछिल्लो समय प्राथमिक बजारमा नयाँ लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ । संख्या बढेसँगै न्यून संख्यामा निष्काशनमा आउने शेयर निकै कमले मात्र पाउने गरेका छन् । गोलाप्रथाबाट शेयर पाउने लगानीकर्ताको कारोबार खाता नहुँदा उक्त शेयर तत्काल बिक्रीमा आउने गरेको छैन भने सुरुवातमा ओपनिङ्ग रेञ्ज कम हुँदा सस्तो मूल्यमा शेयर बिक्री नचाहँदा पनि नयाँ कम्पनीको शेयर कारोबार सहज हुन सकेको छैन ।

न्यून संख्याका लगानीकर्ताले मात्र शेयर पाउने र सो कम्पनीकोमाग उच्च हुुँदा एउटै कम्पनीको एक कित्ता कम्पनीको शेयरमूल्य ५७ हजारसम्म पुगेको छ । केही समयअघि सार्वजनिक निष्काशनमा आएको महिला लघुवित्तको एक कित्ता शेयरको मुल्य ५ हजार ७०० रुपैयाँसम्म पुगेको थियो । अन्य नयाँ कम्पनीको हकमा पनि ५ सय रुपैयाँ देखि एक हजार रुपैयाँसम्म पुग्ने हुँदा ती कम्पनीको शेयर किन्न खोज्ने लगानीकर्ताले सुरुवाति हप्तामा शेयर नसकेका हुन् ।

नयाँ कम्पनीको शेयरमूल्य बढाउन सहज हुने हुँदा कारोबारको रोजाइमा पनि नयाँ कम्पनीको शेयर पर्दा नयाँ कम्पनीको दोस्रो बजारमा कारोबार खुलेपछि आकाशिने र उच्च मूल्यमा पुगेपछि घट्ने गरेको छ । जसले शेयर सहज रुपमा किन्न पाइन थालेपछि शेयरमूल्य घट्दा नयाँ लगानीकर्ताको लगानी नोक्सानीमा समेत पुग्ने गरेको देखिन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ श्रावण २०७८, मंगलबार  १० : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।