रिलायबल लाइफले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने, बोर्डसँग अनुमति माग

0
Shares

नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा तीन वर्षअघि स्थपना भएको रिलायबल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा प्राथमिक शेयर (आईपीओ) बिक्रीका लागि पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।

कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा ६० लाख कित्ता आईपीओ बिक्रीको अनुमति माग गरेको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा कम्पनीले सिभिल क्यापिटल मार्केट लिमिटेड सुन्धारालाई चयन गरेको छ ।

बोर्डबाट अनुमति पाए रिलायबल लाइफ इन्स्योरेन्स बीमा क्षेत्रमा प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गर्ने पहिलो कम्पनी बन्नेछ । हालसम्म बीमा क्षेत्रका कुनै पनि कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गरेका छैनन् । रिलायबल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा शेयर बिक्री गरेमा शेयर जारी गर्न बाँकी अन्य बीमा कम्पनीहरु पनि त्यसतर्फ मोडिन सक्नेछन् ।

नयाँ कम्पनीको रुपमा स्थापना भएका १० जीवन बीमा र ३ निर्जीवन बीमा कम्पनीमध्ये सबै निर्जीवन बीमा कम्पनीले आईपीओ जारी गरिसकेका छन् । जीवन बीमातर्फ महालक्ष्मी लाइफ, सन नेपाल लाइफ, रिलायबल लाइफ, सिटिजन्स लाइफ र आईएमई लाइफ गरी पाँच कम्पनीको शेयर निष्काशन हुन बाँकी छ ।

रिलायबललाई प्रिमियम मूल्यमा शेयर बिक्रीको अनुमति पाए बोर्डमा आवेदन दिन बाँकी रहेका महालक्ष्मी लाइफ, सन नेपाल लाइफ र सिटिजन्स लाइफले पनि प्रिमियममा शेयर जारी गर्न चाहेमा बाटो खुला हुनेछ । आईएमई लाइफले भने यसअघि गत जेठ ३१ गते नै प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा नै शेयर बिक्रीको अनुमति मागिसकेको छ ।

६७ करोड प्रिमियम संकलन गर्ने

रिलायबल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता २१२ रुपैयाँको दरले एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्नेछ ।

रिलायबलले ६० लाख कित्ता शेयर अंकित मूल्यमा २१२ रुपैयाँ थप प्रिमियम मुल्यमा बिक्री गर्दा कम्पनीलाई ६७ करोड २० लाख रुपैयाँ अतिरिक्त आम्दानी (प्रिमियम) हुनेछ ।

कम्पनीले आव २०७५/७६ मा आफ्नो परिष्कृत वित्तीय विवरणमा कायम भएको नेटवर्थ १०६ रुपैयाँलाई आधार मानेर त्यसको दुई गुणा मुल्यमा प्राथमिक शेयर बिक्री गर्न अनुमति मागेको हो ।

कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँको दरले एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्नेछ । हाल संस्थापकबाट १ अर्ब ४० करोड चुक्ता भैसकेको कम्पनीको आईपीओपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

हाल कम्पनीको जगेडा कोषमा ८२ करोड रुपैयाँ छ । प्रिमियममा जारी हुने आईपीओबाट ६७ करोड २० लाख थपिँदा जगेडा कोषको आकार साढे १ अर्बको बन्नेछ । शेयर बिक्रीबाट प्राप्त हुने आम्दानी बोनको रुपमा मात्र बाँड्न मिल्ने भएकाले बीमा समितिले जीवन बीमा कम्पनीके पूँजीवृद्धि योजना ल्याएको खण्डमा समेत हकप्रद बिना बोनस वितरण गरेर नै पूँजी कायम गर्न कम्पनीलाई सहज हुनेछ ।

पछिल्लो समय वास्तविक क्षेत्रका कम्पनीलाई पूँजी बजारमा आकर्षित गर्न नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा शेयर बिक्री गर्नसक्ने व्यवस्था गरेको छ । यसले बैंक तथा वित्तीय संस्थाका अलवा अन्य क्षेत्रका कम्पनीहरुलाई समेत आकर्षित गरेको छ । पछिल्लो समय अस्पताल, ग्याँस उद्योग, उत्पादनमुलक, सेवा क्षेत्रका कम्पनीहरु पनि पूँजीबजारमा प्रवेश गर्ने उदेश्यका साथ धमाधम पब्लिक कम्पनीमा रुपान्तरण हुन थालेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० श्रावण २०७८, बुधबार  ०९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।