.jpg)
नेपाल राष्ट्र बैंकले आव २०७७/७८ को मौद्रिक नीति मार्फत प्राथमिकता प्राप्त क्षेत्रमा लिएको कर्जा लगानीको लक्ष्य तथ्याङ्कमा नजिक पुगेको पाइएको छ ।
बुधबार व्यवस्थापिका संसदको अर्थ समितिमा भएको चालु आवको मौद्रिक नीति सम्बन्धी छलफलमा गभर्नर महाप्रसाद अधिकारीले २०७७।७८ को मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट प्राथमिकता प्राप्त क्षेत्रमा गरिने कर्जा लगानीको लक्ष्य नजिक रहेको जानकारी दिए ।
राष्ट्र बैंकले कृषिमा लिएको ११ प्रतिशतको लक्ष्य एघार महिनामा नै पूरा भैसकेको छ भने उर्जा र साना तथा मझौला उद्योगमा लक्ष्य नजिक रहेको छ ।
गभर्नर अधिकारीले आव २०७७।७८ को असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कुल कर्जा लगानीको ११ प्रतिशत कर्जा प्रवाह हुने लक्ष्य निर्धारण गरिएकोमा २०७८ जेठ मसान्तसम्ममा १२.६७ प्रतिशत प्रवाह भैसकेको जानकारी दिए । गत आवको एघार महिनामा कृषिमा ३ खर्ब ९६ अर्ब १५ करोड रुपैयाँ बैंकबाट प्रवाह भएको छ ।
यसैगरी २०७८ जेठसम्म उर्जामा १ खर्ब ८७ अर्ब ९ करोड, र साना तथा मझौला उद्योगमा २ खर्ब ८८ अर्ब ५१ करोड कर्जा लगानी रहेको छ । यो कुल कर्जा प्रवाहको आधारमा उर्जामा ५.९८ प्रतिशत र साना तथा मझौला उद्योगमा ९.१६ प्रतिशत प्रतिशत कर्जा प्रवाह भएको छ । मौद्रिक नीति मार्फत उर्जामा ६ र साना तथा मझौला उद्योगमा ११ प्रतिशतको लक्ष्य निर्धारण गरिएको थियो ।
गत आव २०७७/७८ को ११ महिना अवधिमा प्राथमिकता प्राप्त क्षेत्रमा ८ खर्ब ७१ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
कुल कर्जाको पाँच प्रतिशत विपन्न वर्गमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था बमोजिम २०७८ जेठसम्ममा कुल कर्जाको ६.९ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया