
फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड (FOWAD) को गत आर्थिक वर्षको वित्तीय विवरणमा सबैजसो सूचकमा आकर्षक बढोत्तरी देखिएको छ ।
लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ५७ करोड ४६ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा २० करोड ४६ लाख रुपैयाँ नाफा कमाएकोमा १८०.७९ प्रतिशतले नाफा बढाएको हो ।
खुद ब्याज आम्दानी बढेर कोषको लागत र खर्च घट्दा लघुवित्तको नाफामा उच्च सुधार आएको हो ।
चुक्ता पूँजी ६२ करोड ५५ लाख १९ हजार रूपैयाँ रहेको लघुवित्तको नाफा बढेसँगै अघिल्लो आवको तुलनामा गत आवमा प्रतिशेयर आम्दानी ५९.१५ रुपैयाँ बढेर ९१.८७ रुपैयाँ कायम पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ ३०२.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.१५ गुणा छ ।
समीक्षा अवधिमा चुक्ता पूँजी स्थीर रहेको कम्पनीको जगेडा कोषको आकार ५६.५७ प्रतिशत, निक्षेप १८.६७ प्रतिशत, सापटी ४५.१३ प्रतिशत, कर्जा लगानी विस्तार ३४.२० प्रतिशतले बढेको छ । यस्तै खुद ब्याज आम्दानीमा ६९.४६ प्रतिशतले बढाएको लघुवित्तको सञ्चालन नाफामा पनि १८०.७० प्रतिशतको आकर्षक वृद्धि भएको छ ।
२०७८ असार मसान्तसम्ममा लघुवित्तले ६ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन, ८ अर्ब ६३ करोड ५९ लाख सापटी लिएर १५ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले १ अर्ब २७ करोड ४१ लाख ४ हजार रुपैयाँ खुद व्याज आम्दानी र ९० करोड २९ लाख ९९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
संस्थाको जगेडा कोषमा १ अर्ब २६ करोड ६७ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा ८० करोड ९१ लाख थियो । लघुवित्तको खराब कर्जा अनुपात १ बिन्दु घटेर ३.६७ प्रतिशतमा झरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया