एकपछि अर्को गर्दै सूचकमा नयाँ नयाँ रेकर्ड दर्ज गरेको नेप्से सूचकमा साताको अन्तिम कारोबार दिनमा आएर दोहोरो अंकको करेक्शन आएको छ ।
बिहीबार १६ अंकले घटेर ३१०७ दशमलव ४५ बिन्दुमा झरेको छ । यसअघिका चार कारोबार दिनमा नेप्से ४३.३७ अंकले बढेको थियो । बुधबार सूचक ३१२३.१५ पुगी नयाँ रेकर्ड कायम गरेको थियो ।
बिहीबार २२६ वटा कम्पनीको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर१४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रूपैयाँ बराबरमा खरिद बिक्री भएका छन् । यसदिन १ लाख ३५ हजार ४२ वटा संख्यामा कारोबार भएको नेप्सेले जनाएको छ ।
बिहीबार कारोबार भएका १३ मध्ये विकास बैंकको सूचक २ प्रतिशतभन्दा धेरै बढेको छ भने बैंक सामान्य बढेको छ । बाँकी ११ वटा घटेको छ । जलविद्युत, ब्यापार होटल, उत्पादन र लगानी सूचक १ प्रतिशतभन्दा धेरैले घटेका छन् ।
बिहीबार अपर तामाकोशीको सर्वाधिक ६४ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल विद्यूत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्ग ल्याउने खबरले बुधबार सर्किट लागेर बढेको कम्पनीको शेयर पनि सर्किट लेबलमा बढेर उच्च बिक्री चापका कारण बुधबारभन्दा घटेर बन्द भएको छ ।
यसैगरी अपि पावर, अरुण भ्याली, अरुण काबेली फस्ट माइक्रोफाइनान्स, ज्योति विकास बैंक, सानिमा माई हाइड्रोपावर, युनिभर्सल पावर, बुटवल पावर र युनाइटेड मोदी हाइड्रोपावरको शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको युनाइटेड मोदीको २२ करोड बढीको शेयर खरीद बिक्री भएको छ ।

आज नेपाल फाइनान्स कम्पनी, जीवन विकास लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स र खानीखोला हाइड्रोपावरको मूल्य ५ प्रतिशत धेरैले बढ्दा सप्तकोशी डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, बुटवल पावर र आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले बढेका छन् ।
यसदिन अधिकांश हाइड्रोपावर कम्पनीको शेयरमूल्य घटेको छ । बुधबार उच्च बढेको ती कम्पनीमा बिहीबार करेक्शन आएको हो । युनिभर्सल पावर, हिमालयन पावर पार्टनर, शिवश्री हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, र बरुण हाइड्रोपावरको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ । लिवर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, साञ्जेन, घलेम्दी हाइड्रोपावरको मूल्य करिब पाँच प्रतिशतका दरले नै घटेका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ गर्ने संकेत र बिना आधार एकाएक बुधबार जलविद्युतमा आएको उछालमा बिहीबार करेक्शन आएको हो । चुक्ता पूँजी कम भएका विकास बैंकको शेयरमा कारोबारी लगानीकर्ता प्रवेश गरेको देखिन्छ । पछिल्लो समय दैनिक एउटा समुहबाट नाफा सुरक्षित गरी अर्को समुहमा प्रवेश गर्ने ट्रेण्ड देखिएको छ । कारोबारी लगानीकर्ताको छिटो छिटो क्षेत्र परिवर्तले नयाँ लगानीकर्ताको लगानी भने थप जोखिमपूर्ण बनेको छ ।
नेपाल स्टक एक्सचेञ्जको ट्रेड म्यानेजमेन्ट सिस्टम, नेप्सेको पुरानो वेवसाइट र नयाँ वेवसाइटमा फरक फरक अंकमा बिहीबार नेप्से घटेपछि लगानीकर्तालाई कुन चाँही आधिकारिक हो भन्ने अन्यौलता उत्पन्न भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया