नेपाल लाइफ र सन नेपाल लाइफले सार्वजनिक गरे नयाँ बीमा योजना

0
Shares

दुई बीमा कम्पनीले नयाँ आर्थिक वर्षको पहिलो महिनामा नयाँ बीमा योजना ल्याएका छन् । दुई जीवन बीमा कम्पनी नेपाल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना सार्वजनिक गरेका हुन् ।

नेपाल लाइफले केटाकेटी लक्षित नयाँ बीमा योजना सार्वजनिक गरेको हो । सन नेपाल लाइफ इन्स्योरेन्सले “सन लाइफ सावधिक सुनौला जीवन बीमा योजना” सार्वजनिक गरेको हो ।

नेपाल लाइफको “नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना”

न्यूनतम एक लाख रुपैयाँमा पोलिसी खरिद गर्न सकिने

नेपाल लाइफ इन्स्योरेन्सले ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना” सार्वजनिक गरेको छ । कम्पनीले केटाकेटी जीवन बीमा योजना ‘प्लान ५१” नामक बीमा योजना बन्द गरि ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना” ल्याएको हो ।

कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको सफलता पश्चात साउन ६ गतेदेखि लागू हुने गरि उक्त योजना ल्याएको हो।

नेपाल लाइफ केटाकेटी जीवन बीमा योजना एक वर्षदेखि १७ वर्षसम्म उमेर समूहका व्यक्तिले खरिद गर्न सकिन्छ । बीमा योजना खरिद गरेको एक वर्षदेखि जोखिम बहनको सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त योजनामा सरिक हुनका लागि न्यूनतम बीमाङ्क रकम एक लाख रुपैयाँ कायम गरेको छ । अधिकतम बीमाङ्क रकम भने आयश्रोतको आधारमा जति रकमको पनि गर्न सकिने कम्पनीले बताएको छ । उक्त बीमा योजनाको बीमा समाप्तिमा अधिकतम उमेर ४० वर्ष कायम गरिएको छ ।
साथै, उमेरका आधारमा न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्ष अवधिसम्मको लागि यो योजना खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

बीमा जोखिम प्रारम्भ पछि बीमितको मृत्यु भएमा तत्काल बीमाङ्क रकमको २५ प्रतिशत रकम प्रस्तावकलाई भुक्तानी दिने र बाँकी ७५ प्रतिशत बीमाङ्क र मृत्यु हुँदासम्मको आर्जित बोनस रकम व्याज सहित एकमुष्ठ बीमा अवधि समाप्ती भएपछि प्रस्तावकलाई भुक्तानी गरिने कम्पनीले जनाएको छ । उक्त योजनामा ऋण सुविधा तथा एच्छिक सुविधा समेत लिन सकिने छ ।

सन नेपाल लाइफको “सन लाइफ सावधिक सुनौला जीवन बीमा योजना”

सामान्य मृत्युमा १.५ गुणा, दुर्घटनाबाट हुने मृत्युमा २.५ गुणासम्म सुरक्षण पाईने

सन नेपाल लाइफले “सन लाइफ सावधिक सुनौला जीवन बीमा योजना” सार्वजनिक गरेको छ । सन नेपालको उक्त नयाँ बीमा योजनामा न्यूनतम प्रवेश उमेर १८ वर्ष र अधिकतम उमेर ५५ वर्ष तोकिएको छ ।

उक्त बीमा योजनामा प्रवेश गर्न वा उक्त बीमालेख खरिद गर्न न्यूनतम बीमाङ्क रमक दुई लाख रुपैयाँ र अधिकतम बीमाङ्क रकम असिमित कायम गरिएको छ ।
यस्तै, न्यूनतम बीमा अवधि १० वर्ष र अधिकतम बीमा अवधि २० वर्ष तोकिएको छ ।

बीमा अवधि समाप्तिमा आर्जीत बोनस र बीमाङ्कको १४० प्रतिशत सम्म रकम भुक्तानी गरिने कम्पनीले बताएको छ । जस अन्र्तगत १० वर्षे बीमा अवधिमा १२५ प्रतिशत, १५ वर्षे बीमा अवधिमा १३० र २० वर्षे बीमा अवधिमा १४० प्रतिशत रकम भुक्तानी गरिने छ ।

बीमा अवधि भित्र बीमितको मृत्यु भएमा उत्तः अवधिसम्मको आर्जीत बोनस र बीमाङ्क रकमको १५० प्रतिशतसम्म मृत्यु लाभ दिईने कम्पनीले बताएको छ । यस्तै, ५० लाख सम्मको दुर्घटना लाभ, ५० हजार सम्मको किरिया खर्च सुविधा समेत पाईने छ ।

यस्तै, उक्त बीमा योजना अन्र्तगत बीमितलाई बीमाशुल्क भुक्तानीमा समेत छुट दिने छ । वार्षिक भुक्तानी गर्दा २ प्रतिशत, अर्धवार्षिक भुक्तानी गर्दा १ प्रतित र ५ लाख रुपैयाँ देखि बीमाङ्कमा १ प्रतिशत छुट पाउने कम्पनीले जानाएको छ ।

भने दुर्घटनाबाट मृत्यु भएमा बीमाङक रकमको २.५ गुणासम्म बीमा दाबी भुक्तानी पाइने कम्पनीले जनाएको छ । साथै, यस बीमा योजनामा किरिया खर्च सुविधा समेत पाइने कम्पनीले जानकारी गराएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ श्रावण २०७८, आइतबार  १६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।