कुलमानको पुनरागमनको खबरले फेरि चम्कियो हाइड्रो, मूल्य र कारोबार उच्च हुनेमा अगाडि

0
Shares

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रो पटक नियुक्त हुने खबरले शेयर बजारमा हाइड्रो सूचक फेरि चम्किएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले मन्त्रिपरिषद् बैठकमा प्राधिकरणमा घिसिङ नियुक्तिको प्रस्ताव लैजाने खबरले सो क्षेत्रमा उछाल आएको हो ।

एकातिर कुलमानको इन्ट्रि र अर्कोतिर विद्युत् नियमन आयोगले विद्युत् कम्पनीको शेयरको सार्वजनिक निष्काशनपूर्व स्वीकृति सम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन गरी बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न पाउने प्रस्ताव संशोधित मस्यौदामा गरेपछि यस क्षेत्रको शेयर बजारमा रौनकता पुनः फर्किएको छ ।

यद्यपी कमजोर संस्थागत सुशासन र उच्च खर्च रहेका हाइड्रोपावर कम्पनीहरुको शेयर समेत उच्च रुपमा बढेकाले यस्ता कम्पनीहरुको शेयरमा लगानी भने जोखिमपूर्ण रहेको जानकारहरु बताउँछन् ।

कतिपय कम्पनीहरुको वित्तीय अवस्था एकदमै नाजुक रहेको र अझै केही वर्षसम्म लभांश पाउन नसक्ने भएपनि त्यस्ता कम्पनीहरु समेत सर्किट मूल्यमा बढेको बखत शेयर खरीद गर्दा भोलिका दिनमा लगानीकर्ताले सो क्षेत्रबाट नाफा सुरक्षित गरी बाहिरिएपछि नयाँ लगानीकर्ता फस्ने सम्भावना भने रहेको उनीहरुको भनाई छ ।

हाल वित्तीय अवस्थामा पनि भोलि राम्रो प्रगति गर्नसक्ने र विद्युत उत्पादन भई आम्दानी हुने कम्पनीहरुमा गरिने लगानी र कमजोर वित्तीय अवस्था भएका र वर्षौंसम्म प्रतिफल पाउन नसक्ने कम्पनी र ती कम्पनीहरुको बीचमा रहेको मूल्य दाँजेर मात्र लगानी गर्नुपर्ने उनीहरुको सुझाव छ ।

तीव्र उतार चढावपूर्ण रहेको सोमबारको बजारमा धेरै कारोबार हुने र उच्च शेयरमुल्य बढ्ने कम्पनीमा हाइड्रोपावर क्षेत्रका कम्पनीहरुकै रजगज रहेको छ ।धेरै पूँजी भएकाभन्दा थोरै पूँजी भएका कम्पनीको शेयरमा चलखेल गर्न सहज हुने भएकाले त्यस्ता कम्पनीको मूल्य उकासिएका छन् । हकप्रद बिक्रीका लागि बिक्री प्रबन्धक नियुक्ती र आगामी वार्षिक साधारण सभामा हकप्रद जारी गर्ने प्रस्ताव लैजाने सञ्चालक समितिको निर्णयले पनि बजारमा यस क्षेत्रका कम्पनीको शेयरमूल्य बढाउन मदत्त पुर्याएको छ ।

कुलमानको पुनरागमनको खबरले अपर तामाकोशीको शेयरमूल्यमा पनि वृद्धि भएको छ । अपरको मूल्य प्रतिकित्ता ८४० रुपैयाँसम्म पुगेकोमा केही करेक्शन आएर ८२० मा बन्द भएको छ । एक सञ्चार माध्यमसँगको अन्तवातृमा उनले तामाकोशीले २०० प्रतिशत हकप्रद शेयर जारी गरे ऋण तिर्नुपर्ने अभिव्यत्ति दिएका थिए । उनै प्राधिकरणमा आउने भएपनि कम्पनीको शेयर खरीदमा लगानीकर्ताको आकर्षण बढेको हो ।

सोमबार हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण उच्च हुँदा सूचक ३.३५ प्रतिशतले बढेको छ भने अर्कोतिर थोरै पूँजी भएका फाइनान्स सूचकले पनि सोही प्रतिशतका दरले वृद्धि हुँदै लगानी गरेकालाई मख्ख बनाएको छ । बीमा कम्पनी समान्य बढ्दा ब्यापार, विकास बै.क र होटलको सूचक १ प्रतिशत धेरैले घटेको छ । बैंकिङ्ग सूचक पनि सामान्य ऋणात्मक रह्यो ।

साताको दोश्रो कारोबार दिन सोमबार नेप्से सूचक १.५४ अंकले बढेर ३१०९.६६ बिन्दुमा छ । ठूला कम्पनीको सूचक मापपक सेन्सेटिभ भने २.०५ अंकले घटेर ५७५.९५ बिन्दुमा झरेको छ ।

यसदिन २२४ वटा कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर १ लाख २८ हजार ५९५ पटक खरिद बिक्री हुँदा कारोबार रकम १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ रूपैयाँ पुगेको छ । कारोबार भएका १३ समुहका सूचकमध्ये ५ बढेको छ भने ८ घटेको छ ।

सोमबार युनियन हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, कर्पोरेट डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स, जीवन विकास लघुवित्त, ङादी ग्रुप पावर, युनियन लाइफ इन्स्योरेन्स, हिमालयन पावर पार्टनरको शेयरमूल्य सकारात्मक सर्किट लेभल बढेर कारोबार भएको छ ।

सोमबारको कारोबारबाट १०.२५ प्रतिशत सिद्धार्थ बैंक डिबेञ्चर २०८३को मूल्य सर्वाधिक ३.९६ र १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५को मूल्य ३.९२ प्रतिशतले घटेको छ । मिर्मिरे लघुवित्त, सारथी नेपाल लघुवित्त, नेपाल फाइनान्स, सबैको लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक र नेरुडे लघुवित्तको लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन अरूण भ्याली हाइड्रोपावरको सर्वाधिक ६७.०६ करोडको कारोबार भएको छ । सोमबार अपर तामाकोशी ५८.३१, अपि पावर ५३.४५, सिनर्जी पावर ५०.२३, युनाइटेड मोदी हाइड्रोपावर ४५.०४ र नेशनल हाइड्रोपावरको ४१.८८ करोडको शेयर कारोबार भउको छ । धेरै कारोबार हुने अन्य कम्पनीहरूमा आइसीएफसी फाइनान्स, अरुण काबेली पावर, मञ्जुश्री फाइनान्स र बुटवल पावर कम्पनी रहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ श्रावण २०७८, सोमबार  १५ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।