नेपाल लाइफको खुद बीमाशुल्क ३१ अर्ब, नाफामा सामान्य सुधार

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।कम्पनीले गत आवको यसै अवधिको तुलनामा खुद बीमाशुल्क १६.९३ प्रतिशतले बढाएको हो ।

गत आवको सोही अवधिमा कम्पनीले वर्षसम्म २७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

जीबन बीमा कम्पनीहरुमै सबैभन्दा अब्बल कम्पनी मानिने नेपाल लाइफलले यस अवधिमा चुक्ता पूँजी ३१ प्रतिशतले वृद्धि गरेको छ । गत आवको सोही अवधिमा ५ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले यस अवधिमा ३१ प्रतिशतले वृद्धि गर्दै ७ अर्ब १९ करोड रुपैयाँ पुर्याएको हो । कम्पनीले २०७५/७६ को साधारणसभाबाट ३१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

७ अर्ब १९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीले असार मसान्तसम्ममा खुद नाफामा सामान्य सुधार देखिएको छ । यस अवधिमा कम्पनीले ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.०५ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले ५३ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो नाफा बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो ।

चौंथो त्रैमासम्ममा कम्पनीले पुनर्बीमा कमिशनबाट २ करोड ६२ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ७ अर्ब ७७ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै बीमालेख धितोमा १९ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

असार मसान्तसम्ममा जीवन बीमा कोष २९ प्रतिशतले बढाएर एक खर्ब १२ अर्ब पुर्याउन सफल भएको छ । अघिल्लो वर्ष जीवन बीमा कोषमा ८७ अर्ब २ करोड रुपैयाँ थियो । कम्पनीको जगेडा कोषमा भने ७१.०३ प्रतिशतको गिरावट आएको छ ।

कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा १०.३९ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ४८ अर्ब ३८ करोड रुपैयाँ दिर्घकालिन लगानी गरेको छ ।

कम्पनीको दाबी भुक्तानी ४६ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष ८ अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्ष ५ अर्ब ९७ करोड रुपैयाँ थियो।

कम्पनीले अभिकर्ताहरुका लागि तीन अर्ब ५५ करोड रुपैयाँ कमिसन वितरण गरेको छ । हाल कुल कायम बीमालेख संख्या १३ लाख ८१ हजार छ ।
कम्पनीको प्रतिशेयर आम्दानी २.२१ रुपैयाँले घटेर ७.४४ रुपैयाँमा सिमित भएको छ । प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।