नेपाल उद्योग वाणिज्य महासंघद्धारा राप्रपाका अध्यक्षहरूसँग नेट २०३० माथि छलफल सम्पन्न

0
Shares

राष्ट्रिय आर्थिक रुपान्तरण भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरूसंगको छलफललाई अगाडि बढाएको छ । सो क्रममा महासंघले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसंग बिहीबार महासंघ सचिवालयमा छलफल गरेको छ ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले भिजन पेपरका वारेमा विस्तृत रूपमा जानकारी गराउंदै यसको सफल कार्यान्वयनमा महासंघले सबै राजनीतिक दलहरूको सहयोग खोजेका बताए ।

मुलुकको अर्थतन्त्र एक सय अर्व अमेरिकी डलर पुरयाउने, थप २३ लाख अतिरिक्त रोजगारी सृजना गर्ने र जीडिपीको अनुपातमा व्यापार घाटा आधा घटाउने मुख्य लक्ष्यका साथ ल्याइएको नेट २०३० को सफल कार्यान्वयन सरकार, सबै राजनीतिक दलहरू, निजी क्षेत्रको संयुक्त सहयोग र सहकार्यबाट मात्र सम्भव हुने स्पष्ट पारे ।

सरकारको वार्षिक बजेट तथा राष्ट्र बैंकको मौद्रिक नीति मार्फत आएका कतिपय कार्यक्रम तथा नीतिहरू भिजन पेपरको कार्यान्वयनलाई सहज बनाउने खालको आएको पनि उनले स्पष्ट पारे । भिजन पेपरको सफल कार्यान्वयनका लागि महासंघले एक सय वटा प्रयासहरूको पहिचान गरेको र ती मध्ये करिब आधा जतिको कार्यान्वयनको थालनी भैसकेको पनि बताए ।

कोभिडले थला परेको अर्थतन्त्रलाई माथि उठाउन उद्योग व्यवसायको पुनरुत्थान र नयां थप उद्योग व्यवसाय विस्तार आवश्यक भएकोमा अध्यक्ष गोल्छाले जोड दिए । उनले उद्योगधन्दा विस्तारका लागि विशेष गरी लगानी तथा व्यापार व्यवसाय प्रवद्र्धनमा वाधा बनेका करिब डेढ दर्जन पुराना ऐन कानूनहरूको तत्काल संशोधन तथा पुनरलेखनमा महासंघले सरकारलाई सुुझाएको बताए ।

सरकार र नेपाल राष्ट्र बैंकको उचित सहयोगका कारण पहिलो कोभिड लहर पश्चात केही क्षेत्र बाहेक अन्य क्षेत्रहरू सहज रुपमा माथि उठन सके पनि दोस्रो लहर अर्थतन्त्रका लागि बढी घातक हुन पुुगेको स्पष्ट पारे ।

अर्थतन्त्रलाई अहिलेको संकटबाट माथि उठाउन सरकारले ल्याएका नीति तथा कार्यक्रम र महासंघले भिजन पेपर मार्फत अगाडी सारेका कार्यक्रम तथा सुुझावहरूको पूर्ण कार्यान्वयन निजी क्षेत्रले खोेजेको र त्यसमा राजनीतिक दल तथा सरकारका तर्फबाट पूर्ण सहयोग रहने विश्वास महासंघको छ, उनले भने ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तीनै जना अध्यक्षहरुले आफ्नो दल यतिखेर आर्थिक नीति बनाउने तयारीमा रहेकाले निजी क्षेत्रसंग सल्लाह सुुझाव लिने उद्देश्यले महासंघको नेतृत्वसंग छलफल गर्न आएको बताए ।

महासंघले अगाडी सारेको भिजन पेपर र त्यसले लिएका लक्ष्यहरु निकै नै महत्वपूर्ण रहेको र यो दस्तावेज सरकार तथा सवै राजनीतिक दलहरुका लागि समेत अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनमा आफ्नो दलको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाएका थिए ।

आफ्नो दल निजी क्षेत्र मैत्री रहेकोमा विश्वस्त हुन आग्रह गर्दै निजी क्षेत्र मैत्री वातावरण भयो भने मात्र मुलुकुभित्र उद्योग धन्दा विस्तार हुने, रोजगारी सृजना हुने, वाह्य लगानी आउनेमा आफूहरू स्पष्ट रहेको उनीहरुले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आवश्यक रहेको बताए । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमुुल परिवर्तन, नीतिगत स्थिरता आवश्यक रहेकोमा जोड दिए ।

महत्वपूर्ण ऐन कानून बनाउंदा सरोकारवालाहरूलाई साथै लिएर बनाउनुपर्ने र मुलुकभित्र लागू भएका ऐन कानून सबैलाई बराबरी लागू हुनुुपर्ने सुुझाव उनीहरुको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३ भाद्र २०७८, बिहिबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।