एक अर्ब पूँजी भएका लघुवित्तले उपत्यकाका महानगर बाहिर कर्पोरेट कार्यालय खोल्न सक्ने


नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई काठमाडौंमा कर्पोरेट कार्यालय खोल्ने बाटो खुला गरेको छ । केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै उपत्यकाका दुई महानगर भन्दा बाहिर कर्पोरेट कार्यालय स्थापना गर्न दिने भएको हो ।

राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार लघुवित्त वित्तीय संस्थाहरु गाभिएर वा प्राप्ति गरेर १ अर्बभन्दा बढी चुक्ता पूँजी कायम गरेमा काठमाडौं र ललितपुर महानगरपालिका बाहेकका स्थानमा उपत्यका भित्र कर्पोरेट कार्यालय स्थापना गर्न दिने भएको छ ।

त्यसैगरी १ अर्बभन्दा बढी चुक्ता पूँजी भएका संस्थाले एउटा राष्ट्रियस्तर वा २ वटा प्रदेश स्तरका संस्था गाभेमा वा प्राप्ति गरेमा पनि उपत्यका भित्र काठमाडौं तथा ललितपुर महानगरपालिका बाहेकका स्थानमा एउटा कर्पोरेट कार्यालय र २ वटा शाखा कार्यालय स्थापना गर्न दिने नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।

त्यसैगरी केन्द्रीय बैंकले राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले २०७९ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान अनुसार समेत समानान्तर रुपमा तयार गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले लघुवित्तले स्वीकृत कर्जामा वार्षिक १.५० प्रतिशत सम्म सेवा शुल्क लिनसक्ने व्यवस्था गरेको छ । एक वर्षभन्दा कम अवधिको लागि कर्जा प्रवाह गरेको अवस्थामा यस्तो कर्जाको लागि वार्षिक १.५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन समेत केन्द्रीय बैंकले लघुवित्तहरुलाई निर्देशन दिएको हो ।

तर, थोक कर्जा प्रवाह गर्ने संस्थाले लघुवित्त वित्तीय संस्थाहरुलाई प्रवाह गर्ने कर्जामा वार्षिक ०.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाइने छैन । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्ने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।