सरकारले जनताको चाहना पूरा गरेरै छाड्छ :मन्त्री विष्ट

0
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकमा कम्युनिष्ट पार्टीको एकता भएको र उसको नेतृत्वमा सरकार चलेको देख्न नचाहनेले कुनै न कुनै रुपमा विरोध गर्न खोजे पनि आफूहरुले चुनावको समयमा जनताका सामु गरेका वाचा पूरा गरेरै छाड्ने बताएका छन।

जिल्लास्तरका अगुवा कार्यकर्तासँग आज मन्थलीमा भएको अन्तक्र्रियामा मन्त्री विष्टले मुलुक लामो समयदेखिको विकासबाट वञ्चित तथा बेथितीबाट ग्रसित रहेकाले रातारात परिवर्तन र विकास नदेखिएको उल्लेख गरे । उनले भने, “सरकारले जनतामा परिणाम दिने गरी काम गरिरहेको छ । हामी आगामी निर्वाचनसम्ममा गत निर्वाचनमा हामीले गरेका वाचा पूरा ग¥यौँ भनेर बुँदागत रुपमा राख्न सक्ने गरी काम गरिरहेका छौँ ।”

कार्यकर्तालाई जनताका बीचमा गएर सरकारले चुनावी प्रतिवद्धता पूरा गर्ने सन्देश लैजान मन्त्री विष्टले आग्रह गरे। उनले भने, “जनताको मन खुम्च्याउन नपाउने र कार्यकर्ताको शीर नझुक्ने गरी सरकारले काम गर्नेछ । यो सरकारले देश र जनताको अहितमा कुनै काम गरेको छैन । गर्दैन पनि ।”

अन्तक्र्रियामा नेकपाका जिल्ला नेताहरु आनन्द श्रेष्ठ, प्रकाश कार्की, नगरपालिकाका उपप्रमुख माया कार्कीलगायत सहभागी थिए। मन्त्री विष्टले जिल्लास्थित प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग पनि छलफल गरेका थिए।