लगानी बोर्डले ५ वर्षे व्यावसायिक रणनीतिक योजना सार्वजनिक गर्ने

0
Shares

लगानी बोर्डले पाँच वर्षे व्यावसायिक योजना सहितको रणनीतिक योजना सार्वजनिक गर्ने भएको छ । आर्थिक समृद्धिका लागि साझेदारीको मुल नाराका साथ बोर्डले आफ्नो दशौं बार्षिकत्सवको अवसर पारेर रणनीतिक योजना सार्वजनिक गर्ने भएको हो ।

वि.सं. २०६८ सालमा स्थापना भएको लगानी बोर्डले यही भदौ २३ गते १० औं वार्षिकत्सव मनाउँदैछ । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट उक्त रणनीतिक योजनाका साथै नेपाल इन्भेष्टमेन्ट गाइड, २०२१ र कफी टेवल बुक समेत सार्वजनिक गरिने जनाएको छ।

उक्त अवसरमा लगानी बोर्डबाट सहजीकरण भइरहेका परियोजनाहरुका विकासकर्ता, लगानीकर्ता, विकास साझेदार तथा लगानी बोर्डसँग आवद्ध विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिने पनि बोर्डले जनाएको छ ।

उद्घाटन समारोह पछि दिगो पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारी लगानीका सम्भावनामा केन्द्रित भई दुईवटा छलफल सत्रहरु संचालन हुनेछन् ।

कोभिड १९ को महामारी पछिको आर्थिक अवस्था तथा जलवायु परिवर्तनको विश्व परिदृश्यमा सरकारले दिगो पूर्वाधार विकासमा जोड दिइरहेको सन्दर्भमा ’नेपालमा दिगो पूर्वाधारको विकास’ विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको अध्यक्षतामा पहिलो सत्र संचालन हुनेछ ।

यस सत्रको छलफलबाट नेपालमा हरित र दिगो पूर्वाधारको विकासका सम्भावना, वर्तमान कानूनी व्यवस्थाहरु, लगानीका अवसरहरु तथा चुनौति एवम् सार्वजनिक–निजी साझेदारी लगायत परियोजना विकासका संयन्त्रहरु र आपसी सहकार्यका सम्भावनाहरु पहिचान गर्ने अवसर प्राप्त हुने बोर्डको अपेक्षा छ ।

त्यसैगरी, अर्थ सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा ’नेपालको आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारीको विकास र व्यबस्थापन ’ दोस्रो सत्र संचालन हुनेछ । यस सत्रले नेपालमा सार्वजनिक–निजी साझेदारीमा लगानी परिचालनका विविध पक्षहरु, लगानी योग्य तथा विश्वासनीय परियोजनाको विकास तथा व्यवस्थापन, नेपालमा सार्वजनिक–निजी साझेदारी परियोजनाका सम्भावना र चुनौतिहरु तथा परियोजनाहरुको विकासका लागि सरोकारवालाहरुसँग सहकार्यको सम्भावनाहरुबारे छलफल गर्ने अवसर प्रदान गर्नेछ।

वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य मापदण्ड अपनाइ भौतिक रुपमा तथा डिजिटल प्लेटफर्म मार्फत नेपाल सरकारका उच्च अधिकारीहरु, नेपाल स्थित कुटनीतिक नियोगहरु, विदेश स्थित नेपाली नियोगहरु, अन्तर्राष्ट्रिय लगानीकर्ताहरु, विकास साझेदारहरु, जन प्रतिनिधिहरु, परियोजना विकासकर्ताहरु, निजीक्षेत्र, विज्ञहरु तथा संचारकर्मीहरु लगायतको सहभागिता रहने बोर्डले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ भाद्र २०७८, सोमबार  १८ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।