सरकारले सार्वजनिक संस्थानहरुकोे आईपीओ ल्याउने, पूँजी बजारमा वित्तीय अनुशासन कायम गरिने

0
Shares

सरकारले सार्वजनिक संस्थानहरुको पनि सर्वसाधारणहरुमा शेयर जारी गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिस्थापन बजेटमा सार्वजनिक संस्थाहरुलाई पूँजी बजारमा सूचीकृत गरिने बताएका हुन् । यसैगरी उनले पूँजी बजारमा वित्तीय अनुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षणमा जोड दिइने उल्लेख गरे ।

मन्त्री शर्माले सरकारको मातहतमा रहेका पूर्ण सरकारी स्वामित्वका संस्थाहरुको आवश्यकता अनुसार कम्पनी मोडलमा रुपान्तरण गरिने व्यवस्था गरिएको जानकारी दिए । ती संस्थाहरुको पूँजी बजारमा सूचीकृत गर्दै आत्मनिर्भर र थप लगानीको स्रोत जुटाउन सक्षम बनाउँदै लगिने नीति सरकारले लिएको समेत उनले बताए ।

अर्थमन्त्रीले शुक्रबार संसदमा पेश गरिएको प्रतिस्थापक विद्येयकमा भनिएको छ ‘पूँजी बजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गरिनेछ। सरकारको मातहत रहेका सम्भाव्य सार्वजनिक संस्थानहरूलाई आवश्यकता अनुसार पूर्ण सरकारी स्वामित्वका कम्पनी मोडलमा रुपान्तरण गरी पुँजी बजारमा सूचिकृत गर्दै आत्मनिर्भर र लगानीको थप स्रोत जुटाउन सक्षम बनाउँदै लैजाने नीति लिइनेछ।’

हाल अस्तित्वमा रहेका ४२ ओटा संस्थानमध्ये २४ ओटा नाफामा १८ ओटा घाटामा रहेका छन् । जनकपुर चुरोट कारखाना बन्द भएको वर्षौं भएको छ भने विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय प्रारम्भ भएको छैन ।

यस्तै संसदमा विनियोजन अध्यादेशमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले सरकार सार्वजनिक संस्थानको निजीकरणको पक्षमा नरहेको बताए । उनले सार्वजनिक संस्थानहरु निजीकरण गरिने नभई व्यवस्थापन सुधारबाट क्षमता बढाउने योजना रहेको बताए । पछिल्लो समय नेपाल एयरलाइन्सलाई कम्पनी मोडेलमा लैजान शुरु गरिएको प्रक्रियालाई निजीकरण गर्न लागेको भन्दै कर्मचारीले आन्दोलन गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ भाद्र २०७८, शुक्रबार  १६ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।