नर्भिकले अब शनिबार र सार्वजनिक विदाको दिनमा पनि ओपिडी खोल्ने

0
Shares

थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिबार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।

तिजको विदाको दिन पनि नर्भिकले ओपिडी सेवा सञ्चालन गरेको थियो । अब भने यो क्रमलाई निरन्तरता दिंँदै शनिबार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपिडी सेवा सञ्चालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् ।

उनका अनुसार व्यस्त काठमाण्डौबासीको सुविधालाई ध्यानमा राखेर नर्भिकले शनिबार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपिडी सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । त्यसरी सञ्चालन गरिने ओपिडीमा कुन कुन विशेषज्ञको सेवा पाइन्छ भन्ने कुरा नर्भिकले आफ्ना सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट जानकारी गराउने समेत उनले बताए ।

यसैगरी, नर्भिक अस्पतालले ओपिडीको सन्ध्याकालीन सेवा समेत सञ्चालन गरिरहेको छ । यो सेवालाई समेत अझ व्यापक बनाउने तयारी भइरहेको मिश्रले जानकारी दिए ।

दैनिक अफिस जानुपर्ने बाध्यतामा रहेका व्यस्त सर्वसाधारणको सुविधालाई ध्यानमा राखी राति ८ बजेसम्म नै ओपिडी सेवा सञ्चालन गर्ने तयारी भइरहेको हो ।

यसैबीच, नर्भिक अस्पतालले सार्वजनिक गरेको शिक्षकलाई छूट सम्बन्धी स्किममा शिक्षकहरुको आकर्षण देखिएको छ । नर्भिकले अन्तराष्ट्रिय टिचर्स डेको अवसर पारेर गत शुक्रबारदेखि एक साताका लागि शिक्षकहरुलाई अस्पतालका सबै सेवामा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको थियो ।

यो अफर लिने शिक्षकहरुको संख्या बढिरहेको अस्पतालले जनाएको छ । यो अफर यो सातासम्म जारी रहनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।